काँग्रेस नेतृत्व निर्वाचनको तयारी पुराः सभापतिमा पाँच जनाको उम्मेदवारी

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) हुने निर्वाचनका लागि सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको  छ ।

सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता गराउनुभएका एक जना युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएपछि अब सभापतिमा पाँच जनाको उम्मेदवारी कायम भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, नेताहरू डा शेखर कोइराला, प्रकाशमान सिंह,  विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ उम्मेदवार रहनुभएको छ ।

पार्टी पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको प्रकाशित अन्तिम नामावली अनुसार दुई जना उपसभापतिका लागि सात जनाको उम्मेदवारी कायम भएको छ भने, दुई जना महामन्त्रीका लागि ६ जना र ८ जना सह महामन्त्रीका लागि १९ जनाको उम्मेदवारी कायम भएको नेपाली निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले दुई जना उपसभापतिका लागि नेताहरू पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, सुजाता कोइराला, महेश आचार्य, डा.चन्द्र भण्डारी, धनराज गुरुङ  र दिव्यश्वरी शाह उम्मेदवार रहनुभएको जनाएको छ ।

यसैगरी, दुई जना महामन्त्रीका लागि नेताहरू प्रकाश शरण महत, प्रदीप पौडेल, गगन थापा, डा.मिनेन्द्र रिजाल, डा.राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहनुभएको छ ।

शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराउनुभएको थियो । 

तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिनुभएका दुई जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका ५५ जना गरी ५७ जनाले मनोनयन फिर्ता लिनुभएको निर्वाचन समितिले जनाएको छ ।

काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि  भोलि (सोमबार) बिहान ८ः०० बजेदेखि मतदान हुनेछ ।

भोलि (सोमबार) बिहान सुरु हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको र १ हजार १ सय बुथको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ ।

मतदानलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।

मतदान सम्पन्न भएपछि सुरुमा सभापतिको मतगणना हुनेछ । सभापतिमा दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने नेपाली काँग्रेसको विधानमा व्यवस्था रहेको छ ।

सभापतिको टुङ्गो लागेपछि मात्र अरू पदका लागि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

यसपालिको महाधिवेशनमा मतदाताको सङ्ख्या चार हजार ७ सय ४३ रहेको छ ।

कांग्रेस नेतृत्वका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)


ताजा खबर