भारतको अनुदानमा सर्लाहिमा दुई नयाँ विद्यालय

भारत सरकारको आर्थिक सहयोगमा सर्लाहिमा निर्मित दुई विद्यालयका नयाँ भवनको उद्घाटन गरिएको छ ।

सर्लाहिको पिपरिया (कविलासी-२) स्थित श्री बाल गोविन्द जनता उच्चमाध्यमिक विद्यालय र नेत्रगंज (लालबन्दी-१) स्थित श्री जनता उच्चमाध्यमिक विद्यालयका नयाँ सुविधासम्पन्न भवनहरूको उद्घाटन गरिएको हो ।

क्रमशः ६९ लाख ४० हजार र नेरु. १ करोड ५९ लाख ४० हजार लागतमा निर्माण भएका दुई उच्चमाध्यामिक विद्यालयका नयाँ भवनहरूको उद्घाटन भारतीय राजदूतावासका नियोग उप-प्रमुख श्रीमती नामग्य खम्पाले बिहीबार गर्नुभयो । उद्घाटन समारोहमा सरोकारवाला स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समितिका अधिकारी, विद्यालय व्यवस्थापन समिति तथा स्थानीयबासीले उपस्थिति जनाएका थिए ।

बालगोविन्द जनता उच्चमाध्यमिक विद्यालयको स्थापना सन् १९६० मा र जनता उच्चमाध्यमिक विद्यालयको स्थापना सन् १९६२ मा भएको हो । यस क्षेत्रका यी दुवै विद्यालयमा शुरुमा प्राथमिक शिक्षाको मात्र सुविधा थियो ।

नेत्रगञ्जस्थित जनता उच्चमाध्यमिक विद्यालय व्यवस्थापन र प्राविधिक शिक्षा अध्यापनका लागि पनि उपयोग भइरहेको छ । साथै यस क्षेत्रमा घना बस्ती भएकाले यस क्षेत्रका बालबालिकाको शैक्षिक आवश्यकताहरू पूरा गर्न हालका पूर्वाधार अपर्याप्त थिए । नयाँ विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्‍याउने बताइएको छ ।

सहयोगदाता भारत सरकार, नेपाल सरकार र जिल्ला समन्वय समिति सर्लाहिबीच भएको त्रिपक्षीय सम्झौताअनुरुप उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा उलिलखित विद्यालय भवनको निर्माण भएको हो ।

ज्ञातव्य छ, सन् २००३ यता भारतले नेपालमा नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा हालसम्म ४६१ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ जसमध्ये सर्लाही जिल्लाका २० गरी प्रदेश २ मा ५८ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले सर्लाही जिल्लाका विभिन्न स्वास्थ्यचौकीलाई ३८ वटा एम्बुलेन्स र एउटा स्कुल बस उपलब्ध गराइसकेको छ ।

नेपाल र भारतबीच मित्रता र सहकार्यको विशिष्ट सम्बन्ध रहेको छ । दुई देशबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी पनि रहेको छ । उल्लिखित शैक्षिक पूर्वाधारको निर्माणले प्राथमिकता क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गर्न भारत सरकारले पु-याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।


ताजा खबर