नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । 

महाधिवेशनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जारी महाधिवेशनले देशलाई डर, त्रास र भएबाट मुक्त गरी लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजको निर्माण गर्न सक्ने नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले देशमा लोकतन्त्रको स्थापनाका लागि पटक–पटक लडेर आएको नेपाली काँग्रेसको काँधमा अब उपरान्त कहिल्यै पनि तानाशाही सरकार आउन नसक्ने सुनिश्चित गर्ने जिम्मेवारी रहेको बताउनुभयो । 

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटनका अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशलाई गति दिन राजनीतिक दलहरू आपसी समझदारी र एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले राजनैतिक दलहरू बिच हुने प्रतिस्पर्धा भित्र पनि एकता खोज्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।  

पूर्व प्रधानमन्त्री एवं एकिकृत समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार र राज्य सत्ताको दुरुपयोगबाट राजनीतिमा विकृति भित्रने गरेको हुनाले यसको अन्त्यका लागि सबै राजनैतिक दलहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो । 

राजनैतिक दलहरू जिम्मेवार हुन नसक्दा नेपालको राजनीति पटक–पटक प्रतिगमन तर्फ जाने गरेको उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले जनताको बलिदानबाट प्राप्त परिवर्तनको रक्षाका लागि राजनैतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । 

महाधिवेशनको उद्घाटनका अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनैतिक दलहरू भित्र लोकतान्त्रिक आचरणको विकास हुन नसक्दा त्यसको प्रतिकूल प्रभाव राज्य सञ्चालनमा समेत देखा परेको बताउनुभयो । 

वरिष्ठ नेता पौडेलले परिवर्तनको नेतृत्व गरेका राजनैतिक दलहरू नै परिवर्तित व्यवस्था अनुकूल व्यवहार गर्न नसक्दा संसद्, अदालत तथा राज्यका विभिन्न अङ्गमा गतिरोधको अवस्था देखा परेको बताउनुभयो । 

उहाँले देशलाई गुटबन्दी र अति दलीय राजनीतिबाट मुक्त गरी सबै नागरिकका अधिकार सुनिश्चित गर्नु नै अहिलेको प्रमुख राजनीतिक दायित्व भएको बताउनुभयो । 

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र तथा देशको विकास जस्ता साझा सरोकारका मुद्दामा सबै राजनैतिक दलहरूसँग सहकार्य गर्न आफ्नो दल तयार रहेको बताउनुभयो । 

अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई स–साना मुद्दा र स्वार्थमा नअल्झी देश निर्माणको काममा नेतृत्वदायी भूमिका खेल्न आग्रह समेत गर्नुभयो । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकीय पद्धतिलाई समावेशी बनाउन सके मात्रै लोकतन्त्र बलियो हुने र देश विकासले गति लिने बताउनुभयो । 

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर मधेसका माग र मुद्दाको सुनुवाइ हुने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन संसद्, अदालत जस्ता राज्यका महत्त्वपूर्ण निकायहरूमा विभिन्न विकृतिहरू देखिएका विकृतिहरू अन्त्यका लागि राजनैतिक दल र त्यसको नेतृत्वले जनताको विश्वास आर्जन गर्न जोड दिनुपर्ने बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताको मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी मालेका महासचिव सिपि मैनालीले नेपालको आन्तरिक राजनीतिमा हुने वैदेशिक हस्तक्षेपलाई निषेध गर्न सबै राजनैतिक दलहरूले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । 

महाधिवेशनमा आज नै बन्द सत्रको कार्यक्रम समेत हुने नेपाली काँग्रेसले जनाएको छ । 

यस्तै भोलि मङ्सिर २५ गते उम्मेदवारी दर्ता तथा उम्मेदवारी विरुद्धको दाबी विरोध र जाँचबुझको समय निर्धारण गरिएको छ भने मङ्सिर २६ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन हुने छ भने मङ्सिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । – रासस


ताजा खबर