प्रधानमन्त्रीको निजी सचिवालयका सबैले राजीनामा दिए : केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन्।

‘हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं,’ प्रधानमन्त्रीको  निजी सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले एक-दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।’

केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने ती सदस्यले बताए।

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो। यसअघि शुक्रबार प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयमा रहेकालाई राजीनामा दिन भनेका थिए।

कतिपय मिडियामा प्रधानमन्त्रीको सल्लाहकारसहितको टिमले राजीनामा दिएको समाचार आए पनि प्रधानमन्त्रीका सल्लाहकारहरूले भने आफूले राजीनामा नदिएको बताए।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले भने- मैले राजीनामा दिएको छैन। प्रधानमन्त्रीले पनि मसँग माग्नुभएको छैन। अरूको राजीनामाबारे थाहा छैन।

प्रधानमन्त्रीका अर्का एक सल्लाहकारले पनि आफूले राजीनामा दिएको हल्ला सत्य नभएको बताए।

प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली, प्रेस सल्लाहकार अर्याललगायत छन्।


ताजा खबर