राष्ट्रपति भण्डारीद्वारा विवाह पञ्चमीको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने कामना गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज दिनुभएको सन्देशमा सो पर्वले समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

त्रेतायुगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ ।

“प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ”, सन्देशमा भनिएको छ, “प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व रहेको छ ।”


ताजा खबर