महामारीमा काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँले काँग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । काँग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदै छ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानबमोजिम एक पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक पुनः सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गर्नुभयो ।

आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा पुनः सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उहाँको भनाइ थियो । साथै उहाँले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराउनुभयो ।  

प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरुबीच चुनावी गठबन्धन तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनसम्मका लागि तय भएको र बाँकी निर्वाचनमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताउनुभयो । –रासस


ताजा खबर