आन्दोलनलाई निरन्तरता दिने बार एसोसिएसनको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

नेपाल बार पदाधिकारीसहित उपत्यकाभित्रका सबै बार इकाई सहभागी आज बसेको बैठकले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म धर्नासहितका अन्य कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । 

यस्तै जिल्ला, उच्च र विशेष अदालतमा गोला प्रणालीबाट पेशी व्यवस्थापन गर्ने सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय तत्काल कार्यान्वयन गर्न माग राख्दै सबै जिल्ला जिल्ला, उच्च र विशेष अदालतमा दैनिक एक घण्टा धर्ना दिने निर्णय समेत गरेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । 

बैठकले आगामी मङ्सिर २४ गते मनाइने मानवअधिकार दिवस र पुस ७ गते मनाइने बार दिवस न्यायपालिका सुधारमा केन्द्रित कार्यक्रमका साथ मनाउने निर्णय पनि गरेको छ । 

यस्तै प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १७ बुँदे आधारबारे विभिन्न राजनीतिक दलका कानुनी पृष्ठभूमिका सांसदसँग छलफल गर्ने बारले जनाएको छ । 

प्रधानन्यायाधीश जबराको इजलासमा बहस नगर्ने घोषणा गरेको बारले प्रधानन्यायाधीश जबराको संयुक्त वा पूर्ण इजलासमा नबस्न समेत सर्वोच्चका न्यायाधीशहरुलाई अनुरोध गर्दै आएको छ । 

अदालतको गरिमा कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा मागेर ५ सातायता नेपाल बार आन्दोलनमा छ ।


ताजा खबर