‘त्रिविले उच्च शिक्षामा पृथक पहिचान कायम राखेको छ’

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालय नेपालको उच्च शिक्षाको पर्याय नै भएको बताउनुभएको छ ।

विश्वविद्यालयको आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित बजेट छलफल गरी पारित गर्न मंगलबार बसेको विश्वविद्यालय सभाको साधारण बैठकमा उहाँले विश्वविद्यालयले नेपालको उच्च शिक्षामा आफ्नो पृथक पहिचान र गरिमामय इतिहास कायम राखेको उल्लेख गर्नुभयो ।  

नेपालले लामो समयसम्म राजनीतिक रूपमा लोकतान्त्रिक आन्दोलन र विकासमा समय व्यतीत गर्नुपरेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरता कायम हुँदा मात्र विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि वातावरण बन्ने बताउनुभयो । 

मुलुकको समग्र विकास र समृद्धिको आधार शिक्षा नै भएको उल्लेख गर्दै उहाँले त्रिभुवन विश्वविद्यालयले शैक्षिक नीतिहरूसँग तादाम्यता कायम गर्दै प्रतिस्पर्धी युगमा प्रभावकारी शिक्षणका लागि शैक्षिक वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । –रासस


ताजा खबर