जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी

जापानमा फेरि पनि विदेशी यात्रुलाई प्रवेश निषेध गर्ने तयारी भएको छ। सिमानामा कडाइका साथ परीक्षण गर्ने व्यवस्था गर्न लागिएको प्रधानमन्त्री फुमियो किशिदाले सोमबार जानकारी दिनुभयो । अफ्रिकी मुलुकहरूमा कोरोनाभाइरसको नयाँ संस्करणको रुपमा देखिएको ओमिक्रोनको महामारी आफ्नो देशभित्र प्रवेश नगरोस् भन्ने उद्देश्यले विदेशबाट आउनेहरूलाई जापान प्रवेशमा निषेध गर्न लागिएको हो ।

“हामीले चाडै नै विदेशबाट आउनेहरूलाई देश प्रवेशमा रोक लगाउने छौँ, त्यो कुनै देश विशेषका लागि मात्रै नभएर विश्वभरिका कुनै पनि देशबाट आउनेहरूलाई रोक लगाउन लागिएको हो,” उहाँले भन्नुभयो। प्रधानमन्त्री किशिदाले नोभेम्बर ३० तारिखदेखि प्रतिबन्धात्मक यो व्यवस्था लागू हुने पनि जानकारी दिनुभयो । जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेहरूलाई परीक्षणमा कडाइ गरिएको थियो । 

तर गत नोभेम्बरको सुरुदेखि विदेशबाट आउनेहरूलाई प्रवेशमा खुकुलो बनाइएको थियो । नयाँ खुकुलो व्यवस्थाका आधारमा व्यवसायी, विदेशी विद्यार्थी र जापानको भिसा भएकाहरूलाई प्रवेश गर्न दिइएको थियो । टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरूलाई कम्तीमा १० दिन अनिवार्य क्वारेनटाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो । 

यस्तो नियम अन्य देशहरूबाट आउनेहरूलाई पनि बढाउँदै लगिने प्रधानमन्त्री किशिदाले जानकारी दिनुभयो ।“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोर रुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडा रुपमा उभिने छ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो । उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्थाहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।  जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ । -सिन्ह्वा


ताजा खबर