धुलिखेल अस्पतालमा नेपालकै पहिलो मधुमेह सेन्टर स्थापना : बिरामीको समस्या पहिचान, फलोअप र समाधानका लागि दिगो कार्यक्रम अघि बढाइने

धुलिखेल अस्पताल काठमाडौँ  विश्वविद्यालय शिक्षण अस्पताल र लायन्स इन्टरनेसनल ३२५ ए २ बीच धुलिखेल अस्पताल लायन्स डाइबेटिज सेन्टर विस्तारका लागि दुई पक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा अस्पतालका तर्फबाट अस्पताल निर्देशक डा. रमेश कोजु र लेखा तथा प्रशासन प्रमुख प्रधुम्न श्रेष्ठ र लायन्सका तर्फबाट ग्रान्ड एड्मिनिट्रेसन सुदर्शनधर प्रधानांग र प्रोजेक्टस अध्यक्ष दिनेश श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

सेन्टर सञ्चालनका लागि लायन्स इन्टरनेसनलले १ लाख ५ हजार र अस्पतालले ३८ हजार डलर गरी कुल १ करोड ४३ लाख नेपाली रुपियाँ सेन्टर सञ्चालन कोष रहेको छ। यही रकमबाट अस्पताल र लायन्स क्लबका बीच मधुमेहका बिरामीको समस्या पहिचान, फलोअप र समाधानका लागि दिगो कार्यक्रम अघि बढाउने उद्देश्यले तीन वर्षका लागि सम्झौता गरिएको प्रोजेक्टका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनुभयो।

उहाँले लायन्स र अस्तालका बीच सन् २०१७ देखि मधुमेह पहिचान र निरन्तर उपचारको पहुँचमा पुग्ने विषयमा सहकार्य हुँदै आएको र यो नयाँ ३ वर्षे योजना थप गरिएको जानकारी गराउनुभयो। यो नेपालका अस्पतालहरूमा पहिलो मधुमेह सेन्टर भएको छ। दक्षिण एसियामा बंगलादेशले पहिलोपटक सन् १९९६ मा मधुमेह सेन्टर खोलेर सेवा विस्तार गरिरहेको छ।

धुलिखेल अस्पतालको बैठक कक्षमा आयोजित प्रोजेक्टको चिनारी तथा सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले बिरामीको पहिचानपछि निरन्तर चिकित्सकको सम्पर्कमा बिरामीलाई ल्याउनका लागि मोबाइल एप्सको विकास गर्ने, स्वास्थ्यकर्मीलाई तालिम दिने र धुलिखेल अस्पतालको २२ स्थानमा रहेका ‘आउट्रिजमार्फत मधुमेहका बिरामी खोज र चिकित्सकको पहुँचमा पुर्याऊ’ अभियानलाई निरन्तरता दिने बताउनुभयो।

सोही अवसरमा धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश कोजुले यो नेपालकै लागि पहिलो प्रोजेक्ट भएको र हामी कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने विषयमा कञ्जुस्याइँ गर्दैनौं र हाम्रो पहिचान विश्वसामु पुगेकै कारण लायन्स इन्टरनेसनलले विश्वास गरेको छ।

यो विश्वासलाई हामी सहीरूपमा कार्यान्वयन गरेर नमुना प्रोजेक्टका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँछौं भन्नुभयो। उहाँले सोही अवसरमा मोटा मान्छेलाई मात्र मधुमेह हुन्छ, मधुमेह हुँदा पानी प्यास धेरै लाग्ने, भोक धेरै लाग्ने लक्षण देखा पर्छन् भन्ने भनाइ भ्रम हो बिनाकुनै लक्षण पनि मधुमेह हुन्छ त्यसैले रोगको संकेत नदेखिँदै स्वास्थ्य परीक्षण गरेर समयमै ढुक्क हुन अनुरोध गर्नुभयो।

कार्यक्रममा धुलिखेल अस्पताल काठमाडांै विश्वविद्यालय शिक्षण अस्पतालका सामुदायिक निर्देशक डा. विराज कर्माचार्यले नेपालमा मधुमेह केन्द्रका रूपमा अस्पतालहरूमा स्थापना नभएको र धुलिखेल अस्पतालले दीर्घकालका रूपमा नमुना मधुमेह केन्द्र बनाएर बिरामीको सेवामा समर्पित हुने योजना बनाएको बताउनुभयो।

उहाँले विकसित मुलुकहरूमा पनि मधुमेहको फलोअप नभएको बताउँदै अब नेपालमै त्यस्तो नमुना केन्द्र बनाउन पाउँदा उत्साहित र प्रतिबद्ध भएको बताउनुभयो। सोही अवसरमा सामुदायिक मेडिसिनका डा. आभा श्रेष्ठले मधुमेह शिक्षा, फेलोसिपलगायतका तालिमहरू नर्सहरूलाई दिनुपर्छ भन्नुभयो।

उहाँले मधुमेहका बारेमा समुदायमा जनचेतना जगाउन गाउँ–गाउँमा क्लबको विकास गरी क्लबमार्फत अघि बढ्न सके राम्रो हुने बताउनुभयो। अस्पतालका लेखा तथा प्रशासन प्रमुख प्रधुम्न श्रेष्ठले यो प्रोजेक्ट सञ्चालनका लागि जिम्मेवारीपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 


ताजा खबर