कर्मचारी सञ्चयकोषको जग्गा खरिद सापटीकर्जा सुरु

कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा किन्न सापटी कर्जा दिन सुरु गरेको छ । 

कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चय कोष कट्टी गरेका  सञ्चयकर्ताले त्यस्तो कर्जा लिन सक्नेछन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न जग्गा किन्न सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

जग्गा किन्न दिने सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० पचास लाख वा जग्गा किनबेच गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिने कर्जा कार्यविधिमा उल्लेख छ । 

कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दश वर्षको हुनेछ । कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्र कर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ । 

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् । जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौँ उपत्यकाभित्र कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्ने छ ।

सञ्चयकर्ताले जग्गा किन्ने सापटी लिन काठमाडौँ उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यालयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्नेछ । 

कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरल चक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ, भने औषधोपचार सुविधा, किरिया खर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षा सुविधा समेत प्रदान गर्दै आइरहेको छ । 

अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीलाई कर्मचारी सञ्चय कोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य छ । कोषको गत कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २०३११ जनालाई ३७ अर्ब ७८ करोड, शैक्षिक सापटी तर्फ ६६१ जनालाई  ५९ करोड, घर मर्मत सापटीतर्फ १७७९ जनालाई एक अर्ब ८७ करोड र सरल चक्र कर्जातर्फ ३३८५ जनालाई  ४ अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा  ४५ अर्ब १७ करोड लगानी छ ।

कोभिड–१९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको भए पनि देशको आर्थिक गतिविधिमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावण यता चार महिनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई तीन अर्ब २७ करोड कर्जा प्रवाह भएको छ । 

कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कोभिड– १९ को अवधिमा आव २०७७/७८ मा १५४४२ जना सञ्चयकर्ताले ८ करोड ४३ लाख ५७ हजार ब्याजमा छुट सुविधा पाएका छन् । गत वर्ष आव २०७६/७७ मा कोभिड– १९ को अवधिमा १५९०३ जना सञ्चयकर्ताले ८ करोड ४३ लाख १६ हजार ब्याजमा छुट सुविधा पाएका थिए । –रासस


ताजा खबर