मुस्ताङमा हिमपहिरो : एक सयभन्दा बढी चौंरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० चौंरी  र याक हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन्।

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रूपमा सम्पर्कमा आएका छन्। १३० याक चौंरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौंरी हिमपहिरोले पुरिएको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

थासाङ गाउँपालिका–२ वडाध्यक्ष नरप्रसाद हिराचनले  भने, “भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौंरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।”    

हिराचनका अनुसार, भागदौड मच्चिंदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक–विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएका छन्।

हिमपहिरोले जङ्गलमा रूख ढालेको छ। वन्यजन्तुको वासस्थानमा क्षति पुगेको छ। हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो। बेनी–जोमसोम सडकमा केही समय यातायात आवागमन बन्द भएको थियो ।    

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ। घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ।

हिमपहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङ बताउँछन्।

हिउँ जम्नुपर्ने मौसममा हिमपहिरो गएको प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए। तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ।  –रासस


ताजा खबर