फाइजर खोप दीर्घरोगी बाहेकलाई पनि लगाउन थालियो

दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ ।

अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फाइजर खोप १८ वर्ष मुनिका बालबालिकालाई समेत लगाउन सुरु गरिएको जानकारी दिनुभयो । दीर्घरोगीलाई लगाउँदा खोप बाँकी भएपछि अन्य उमेर समूहकालाई दिइएको उहाँको भनाइ छ ।

पहिलो चरणमा आएको फाइजर खोप मङ्सिर चारसम्म लगाउने भनिएकोमा खोप बाँकी रहेपछि यसलाई निरन्तरता दिएको डा. अधिकारीको भनाइ छ ।

सरकारले गत महिना कात्तिक आठ गते एक लाख ६२० मात्रा फाइजर खोप ल्याएको थियो । फाइजर खोप नेपालमा प्रयोग हुने पाँचौ खोप हो । यसअघि एस्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइसकिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुनुका साथै ९५ प्रतिशत प्रभावकारी हुने उल्लेख गरेको छ ।

खोप शाखा प्रमुख सागर दाहालका अनुसार फाइजर खोपलाई भण्डारण गर्नका लागि माइनस ७० डिग्री तापक्रम आवश्यक पर्दछ । हाल नेपालमा एक लाख मात्रा खोप भण्डारण गर्न मिल्ने फ्रिज रहेको छ । फाइजर खोप भण्डारणका लागि युनिसेफले नेपाल सरकारलाई एक लाख मात्रा अट्ने चारवटा अल्ट्रा कोल्ड फ्रिज यसअघि उपलब्ध गराएको थियो।


ताजा खबर