सर्वोच्च अदालतमा मुद्दाको पेसी अब गोला प्रथाबाट

सर्वोच्च अदालतमा मुद्दाको पेसी अब गोला प्रथाबाट हुने भएको छ ।

सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोला प्रथाको कार्यविधि पारित गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका १९ न्यायाधीशहरूको आज बसेको बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोला प्रथाको कार्यविधि पास गरेको हो । 

न्यायाधीशहरूको बैठकबाट निर्णय भएर तयार भएको कार्यविधिलाई मुख्य रजिस्ट्रारले प्रधानन्यायाधीश समक्ष पेस गर्ने र प्रधानन्यायाधीशबाट कार्यविधि अनुमोदन भएर कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि मुद्दाको पेसी गोला प्रथाबाट हुने भएको छ ।

यसैबीच सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा बस्न अस्वीकार गरेका कारण आज पनि मुद्दाको सुनुवाइ प्रभावित भएको छ । 

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू इजलासमा बस्न नमानेपछि आजका लागि गठन गरिएको नौ इजलासमध्ये ३ वटा इजलासमा मात्र मुद्दाको सुनुवाइ भएको छ भने अरू ६ वटा इजलास बस्न सकेन ।

नौ वटा इजलासमा कुल २ सय ५९ मुद्दाको पेसी तोकिए पनि आज तीमध्ये २१ वटा मुद्दामा मात्र सुनुवाइ भएको हो ।

आज बसेको ३ वटा इजलासमध्ये २ वटामा मुद्दा तामेलीमा राख्ने र अर्को एउटा इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरी आदेश जारी भएको छ । 

अर्को एउटा इजलास भने आजका लागि तोकिएका ५ वटा मुद्दाका निवेदन तर्फका कानुन व्यवसायीका कारण सुनुवाइ स्थगित गरिएको छ । 

यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबिच झडप हुँदा आज ८ जना कानुन व्यवसायी र केही प्रहरी घाइते भएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्चको वैकल्पिक गेटमा धर्ना दिन जाने क्रममा प्रहरीले लाठी प्रहार गर्दा ८ जना कानुन व्यवसायी घाइते भएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । –रासस


ताजा खबर