अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपालमा

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु तीन दिने भ्रमणका क्रममा बुधवार साँझ सङ्घीय राजधानी काठमाडौं आइपुग्नुभएको छ । 

दुई महिनाअघि सहायक विदेश मन्त्रीको कार्यभार सम्हाल्नुभएका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उहाँले पर्सि शुक्रवार परराष्ट्र मन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उहाँले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नुहुनेछ । 

यसैबीच, काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेश मन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुने जनाएको छ । 

भोलि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उहाँले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । 

अमेरिकी सहायक र उपसहायक विदेश मन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबिचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । –रासस


ताजा खबर