विद्युतीय राहदानीको वितरण कार्यको शुभारम्भ

राहदानी विभागले बुधवारदेखि प्रचलनमा ल्याएको विद्युतीय राहदानीको शुभारम्भ गरेको छ । 

विभागले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्री डा. खड्काले शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी प्रदान गर्दै विद्युतीय राहदानी वितरण कार्यको शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा परराष्ट्र मन्त्री डा. खड्काले प्रविधि विकाससँगै नेपालले पनि प्रविधिमा फड्को मार्दै गएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका र स्वाभिमान बढाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

परराष्ट्र मन्त्री डा. खड्काले आर्थिक रुपमा पछाडि परेका कारण विदेश जाने नेपालीहरूले भोग्नुपरेका समस्या समाधानका लागि देशको समृद्धि र आर्थिक विकासमा अझ बढी जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा शताब्दी पुरुष डा. सत्यमोहन जोशीले राहदानीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको परिचय समेत दिने भएकाले विद्युतीय राहदानीको सुरुवातले विशेष महत्त्व राख्ने बताउनुभयो । 

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले विद्युतीय राहदानीको सुरुवातले नेपालको गरिमालाई अन्य देशमा उच्च बनाउने काम गरेको बताउनुभयो । 

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानीको सुरुवातले राहदानी प्राप्त गर्नका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । 


ताजा खबर