कफीको निर्यात उत्साहजनकः बोर्डद्वारा मूल्य निर्धारण

कोभिड सङ्कटको बेलामा पनि नेपालबाट कफीको निर्यात उत्साहजनक रहेको एक तथ्याङ्कले देखाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६७७ मा ५ करोड ७७ लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको नेपालले आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ६० लाख रुपैयाँ बराबरको कफी निर्यात गरेको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले कोभिडका कारण विश्व नै आर्थिक सङ्कटमा परेको बेलामा पनि नेपालबाट कफीको निर्यात करिब डेढ वर्षको बीचमा दोब्बर देखिएको जानकारी दिनु भयो । 

१७ औँ कफी दिवसको अवसर पारेर मङ्गलवार कीर्तिपुरमा पत्रकार सम्मेलन कार्यकारी निर्देशक भट्टराईले कपीको उत्पादन र उत्पादकत्व हेर्दा विश्व आर्थिक सङ्कटमा परेको बेलामा पनि कफीको निर्यातले आर्थिक पक्षलाई सहयोग गरेको बताउनुभयो ।

बोर्डले आगामी आर्थिक वर्षदेखि ‘युवा लक्षित कफी विस्तार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरेको छ । बोर्डका कार्यकारी निर्देशक भट्टराईले युवाहरूलाई रोजगारीको अवसर दिन र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन पनि आगामी आर्थिक वर्षबाट सो कार्यक्रम सञ्चालन गर्ने योजना तय गरिएको पत्रकार सम्मेलनमा बताउनु भयो  । 

बोर्डले त्यसका लागि प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशहरूमा कफी खेतीको विस्तारका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि जनाएको छ । 

पत्रकार सम्मेलनमा मङ्सिर १ (भोलि) देखि लागू हुने गरी कफीको मूल्य पनि सार्वजनिक गरेको छ । 

जसअनुसार फ्रेस चेरी ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । त्यसैगरी ग्रेड बीको सो कफीको प्रतिकेजी ८० रुपैयाँ मूल्य तोकिएको छ । 

पार्चमेन्ट ग्रेड ए कच्चा कफीको मूल्य प्रतिकेजी ४५० रुपैयाँ र ग्रेड बि सो सोही कफीको मूल्य ३९७ निर्धारण गरिएको छ । बोर्डले ड्राईचेरी ग्रेड ए कच्चा कफीको प्रतिकेजी मूल्य १४८ रुपैयाँ मूल्य तोकेको छ भने बी ग्रेडको सोही कफीको प्रतिकेजी मूल्य ९५ रुपैयाँ निर्धारण गरेको छ । -रासस


ताजा खबर