तराईमा छायो समाचकेवा पर्वको रौनक : दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा मौलिक पर्व मानाइदै

बारा, कात्तिक २३ गते

मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् ।
दाजुबहिनीको प्रेमको प्रतीकको रुपमा रहेको तराईको मौलिक पर्व समा चकेवाको रौनक अहिले तराईका बारा जिल्ला लगायत अन्य जिल्लामा पनि छाएको छ ।

भाईटीका अर्थात गोर्बधन पूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीले माटोका विभिन्न खाले मूर्तिहरू समा चकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृति बनाएर खेलिने गर्दछन् ।
मधेसी तथा थारु मुलकी अबिबाहिता किशोरीहरूले समूहसमूह बनाएर समाचकेवा खेल्न थालेका छन् । उनीहरूले गोर्बधन पूजादेखि समाचकेवा खेल्न शुरु गरेका हुन् । कातिक पूर्णिमासम्म खेलिने यस मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ ।
जिल्लाको ग्रामीण क्षेत्रको गंजभवानीपुर, तेतरिया, कोल्हवी, गडहल, बरियारपुर लगायतका गाँउ घरमा दाजुभाई तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व बर्षमा एक पटक खेल्नाले दाईभाईको प्रेम, माया, मामता र दीर्घायु बढने धार्मिक विश्वास गरिएको स्थानीय पचरौता नगरपालिका ४ की बलकेसिया देवीले बताउनुभयो ।
गाँउका बुढापाकाका अनुसार द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंङ्गलमा घुमघामगर्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाई साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामा सहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेका पुराणमा उल्लेख छ ।
भाईले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउ थालिएको महिलाहरूले बताएका छन् ।
एक अर्का प्रसंङ्गमा द्वापर युगमा भगवान श्रीकृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरूले भगवान कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रुपान्तरित भएको बारागढी गाउँपालिका वडा नम्बर–६ निवासी ६६ बर्षिया औधेष देवी मिश्राले बताईन् ।
पन्ध्र दिनसम्म मनाईने यस सांस्कृतिक पर्वमा रातको समयमा गाँउघरका खासगरी कुमारी कन्या एकत्रित भई माटोले बनाईएको मूर्तिको लोक गीत गाएर पूजा आजा गर्ने गर्दछन् । पर्वको अन्तिम दिन पुर्णिमाको रातमा उक्त भूर्तिलाई परम्परागत गीत गाउँदै फुटाउँछन् ।
पन्द्र दिनसम्म समाचकेवासँग रमाएका किशोरीहरु गाउँ घर नजिकको नदी, जलाशय, पोखरी, सरोवर आदिमा लगि सेलाएर आफना दाजुभाइहरुलाई मिठाई पकवान आदी खुवाएर यो पर्व विधिवत रुपमा सम्पन्न गर्छन् ।

रासस


ताजा खबर