रोजगारीमा इजरायल जानेलाई प्रमाणपत्र पेस गर्न आग्रह

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जानका लागि छनोट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न आग्रह गरेको छ ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिकका लागि परीक्षा दिएर गोला प्रथाद्वारा अन्तिमपटक छनोट भएका उम्मेदवारलाई प्रमाणपत्र पेस गर्न आग्रह गर्दै विभागले आइतबार सूचना सार्वजानिक गरेको हो ।

विभागका अनुसार प्रहरी चारित्रिक प्रमाणपत्रका लागि विभागको इमेलमार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण विभागको इमेलमा मङ्सिर ५ गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य परीक्षण प्रमाणका लागि ललितपुरका स्टार, नेपाल मेडिसिटी हस्पिटल, काठमाडौँका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मङ्सिर ५ गतेभित्र गरिसक्नु पर्नेछ । पहिलो चरणमा छनोट भएकामध्ये ५०० जना युवा एक महिनाभित्र इजरायल पुुग्नेछन् ।

विभागका निर्देशक एवं इजायल रोजगारी संयोजक डम्बर सुनुुवारले इजरायल जाने श्रमिकका लागि विभाग क्रमशः प्रहरी प्रतिवेदन, पीसीआरसहितको स्वास्थ्य परीक्षण, अभिमुखीकरण, श्रम स्वीकृति र उडान तालिका तयार गर्ने जानकारी दिनुुभयो ।

रोजगार सम्झौता भएका युवाको स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदन (आचरण प्रतिवेदन), करारनामा र पूर्वप्रस्थान अभिमुखीकरणलगायतका काम क्रमशः सुुरु गरिनेछ ।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक श्रमिकको अन्तिम छनोटका लागि नेपालले इजरालयको दूतावासलाई उपलब्ध गराएको योग्यताक्रम सूचीका एक हजार ६०० जना उम्मेदवारमध्येबाट एक हजार १७५ रोजगारीका लागि योग्य भएका थिए । मेडिकललगायतका अन्य प्रक्रियामा समस्या आउने अनुमानसहित निर्धारण गरिएकोभन्दा थप १७५ को नाम अन्तिम चरणमा राखिएको छ । यसमा महिलाको ८२१ र पुरुष ३५४ रहेका छन् ।

विभागले इजरायलबाट छनोट भएर आएका सबैलाई भिसा प्रक्रियाका लागि इजरायली दूतावास पठाउने गरी काम भइरहेको जनाएको छ । इजरायल जाने श्रमिकले मासिक झन्डै दुुई लाख रुपियाँ पारिश्रमिक पाउने जनाइएको छ।


ताजा खबर