‘इमान्दार कार्यकर्ता संसदीय चुनावको टिकट लिनै डराउँछन्’

निर्वाचन खर्च बढ्दै जाँदा राजनीति गलत मानिसको हातमा पुग्ने संभावना बढेको छ। ‘

माधवकुमार नेपाल , अध्यक्ष , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

“अहिले निर्वाचन खर्च डरलाग्दो छ र इमान्दार एवम् प्रतिबद्ध कार्यकर्ता निर्वाचन लड्ने वा निर्वाचनमा टिकट लिन डराउने अवस्था छ” २७ कात्तिकमा ललितपुरमा शुरु पार्टी केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले भनेका छन्, “यसलाई सच्याउन सकिएन भने राजनीति गलत मानिसको हातमा जाने संभावना छ।”

अध्यक्ष नेपालको प्रतिवेदनको पूर्णपाठः

प्रिय कमरेडहरु,

हार्दिक अभिवादन

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को ५–७ असोज ०७८ मा सम्पन्न पहिलो केन्द्रीय कमिटीको बैठकपछि यो दोस्रो बैठक आयोजना भएको छ। बैठकको प्रारम्भमा म नेपाली कम्युनिष्ट आन्दोलन अघि बढाउने सन्दर्भमा आफ्नो अमुल्य जीवन वलिदान गर्नु हुने कमरेड पुष्पलाल, क. मनमोहन अधिकारी, जननेता क. मदन भण्डारी, कुशल संगठक क. जीवराज आश्रित लगायतका सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरूप्रति पार्टीको केन्द्रीय कमिटीको तर्फबाट र मेरो आफ्नो तर्फबाट समेत हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शहिदहरुले देखाएको बाटोमा अघि बढ्ने संकल्प समेत गर्दछु।

पार्टी केन्द्रीय कमिटीको यस दोस्रो बैठकसम्म आइपुग्दा हामीले केन्द्रीय कमिटी संख्या विस्तार गरेका छौं, केन्द्रीय निकायहरू गठन गरेका छौं, केन्द्रीय सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च तथा केन्द्रीय प्रतिनिधि परिषद् समेत केही महत्वपूर्ण विभागहरू गठन गरेका छौं। यी कामहरू गर्दा हामीले पार्टीको मस्यौदा विधान, विधि र पद्धतिलाई ख्याल राखेका छौं।

पार्टीमा परिभाषित काम विना संख्या नबढाउने र जिम्मेवारी विहिन अवस्थामा कसैलाई नराख्ने हाम्रो सोँच र मान्यता अनुसार नै पार्टीको केन्द्रीय कमिटीको संख्या विस्तार गरेका छौं। म यस बैठकमा सहभागी हुन आउनु भएका हाम्रो पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी कमरेडहरू, स्थायी , पोलिटब्युरो, पार्टी केन्द्रीय कमिटी र केन्द्रीय निकायका सम्पूर्ण कमरेडहरूलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु।

नेपाली श्रमजीवी जनताका गाँस–वास–कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाका आधारभूत समस्या समाधान गर्दै आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा अध्ययन, अनुसन्धान, चिन्तन र मनोरञ्जनको व्यवस्थाका लागि नै हामीले समाजवाद निर्माण गर्न चाहेका हौं। काम गर्ने उमेर र अवस्थाका सबै नेपालीलाई योग्यता अनुसार काम र काम अनुसार दाम वा ज्यालाको प्रत्याभूति गर्ने आर्थिक–राजनीतिक प्रणालीको स्थापना गर्दै वर्गीय शोषण–दमन रहित समाज निर्माण गरी नयाँ मानवीय संस्कृतिको निर्माण गर्ने अभियान नै समाजवादी आन्दोलन हो। यो आन्दोलनलाई सफल बनाउनका लागि विभिन्न तह र तप्काका सर्वहारा–श्रमजीवी जनताका साथै गरीब किसानदेखि धनी किसानसम्म, शहरिया गरीबदेखि राष्ट्रिय पूँजीपति–उद्यमीसम्म सबैको साथ–सहयोग र संयुक्त मोर्चाको आवश्यकता रहन्छ। यसै उद्देश्यलाई ध्यानमा राखेर १० बैशाख २००६ (तद्अनुसार २२ अप्रिल १९४९) मा लेनिन जयन्तीको अवसर पारेर कमरेड पुष्पलालको अगुवाईमा नेपाल कम्युनिस्ट पार्टीको गठन गरिएको थियो। कमरेड पुष्पलालले गठन गर्नु भएको उक्त कम्युनिस्ट पार्टी नै अनेक आरोह–अवरोह, विभाजन, एकीकरण, पुनः विभाजन र फेरी एकीकरणका शिलशिला बेहोर्दै अगाडि बढिरहेको छ र हाम्रो पार्टी नै यसको सच्चा अगुवा एवम् उत्तराधिकारी पार्टी हो।

हामीलाई गौरव छ– नेकपाका संस्थापक महासचिव कमरेड पुष्पलालको संयुक्त जनआन्दोलनको नीति र जननेता कमरेड मदन भण्डारीको अगुवाईमा निर्माण गरिएको जनताको बहुदलीय जनवादमा व्यक्त वैचारिक, सैद्धान्तिक लाइन अनुसार नै जनक्रान्ति २०६३ सफल भएको थियो जसलाई १५ जेष्ठ २०६५ मा बसेकाे पहिलो संविधान सभाको पहिलो बैठकले औपचारिक घोषणा गरी संस्थागत गरेको थियो। 

त्यो घोषणासंगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले आकार लिन शुरु गर्‍यो भने ३ असाेज २०७२ मा दोश्रो संविधानसभा मार्फत् नेपालको संविधान घोषणा गरिएपछि यसले पूर्णता पाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएसंगै नेपालको सामन्तवाद विरोधी पुँजीवादी–जनवादी क्रान्ति सम्पन्न भएको छ।

देश पुँजीवादी युग, पुँजीवादी व्यवस्थामा प्रवेश गरेको छ। हाम्रो देशमा हाल विद्यमान पुँजीवादी व्यवस्था स्वतन्त्र राष्ट्रिय चरित्रको नभै दलाल चरित्रको छ। संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने अक्षर र भावनालाई मूर्त रुप दिनका लागि दलाल पुँजीवादलाई परास्त गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै समाजवाद निर्माणका आधार तयार गर्नका लागि वैचारिक, सैद्धान्तिक र कार्यक्रमिक कार्यदिशा तयार गर्नु आजको कम्युनिस्ट आन्दोलनको प्रमुख कार्यभार हो।

हामीले नेकपा (एमाले)बाट किन विद्रोह गर्‍यौं, के–कति कारणहरूले हामीलाई नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि बाध्य बनाए र हामीले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गर्‍यौं भन्ने बारेमा हाम्रो पहिलो घोषणापत्र, राजनीतिक प्रस्ताव एवं अन्तरपार्टी निर्देशन–१ र २ मा व्याख्या गरिसकिएको छ।

१ पार्टी निर्माण र सरकार सञ्चालनको मार्ग दिशा

हामीले एमालेको ओली नेतृत्व गुटले लिएको दक्षिणपन्थी विसर्जनवादी तथा राष्ट्रिय आत्मसमर्पणवादी विचार तथा प्रवृत्तिका साथै त्यस गुटको व्यक्तिवादी, स्वेच्छाचारी, सर्वसत्तावादी अहंकार र दम्भका विरुद्ध विचारधारात्मक संघर्ष र विद्रोह गर्दै नेपाली श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधिका रुपमा नेपाली क्रान्ति सम्पन्न गर्न नेपाली विशेषताको समाजवाद तथा वैज्ञानिक समजवादको लक्ष्य प्राप्तिको घोषणाका साथ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को गठन गरेका थियौं। मुलुकको संविधान र कानुनसम्मत ढंगले निर्वाचन आयोगमा हाम्रो पार्टी दर्ता भएको छ र ९ भदाै २०७८ मा  औपचारिक रुपमा वैधानिकता प्राप्त भएको छ।

हाम्रो पार्टीको गठन र हाम्रो विद्रोहको बारेमा कसै कसैले यसको सैद्धान्तिक र वैचारिक धरातललाई नबुझी ‘पार्टी फुटाएको’ भनी नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन्। एमालेको ओली नेतृत्व गुटले लिएको गलत नीति, विचार प्रवृत्तिका विरुद्ध हामीले लामो समय विचारधारात्मक संघर्ष गर्दै आयौं। अन्तरपार्टी जनवादको प्रक्रियाबाट त्यसको उचित समाधान हुन नसकेपछि अन्ततः विद्रोह गर्‍यौं र नेपालको कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउँदै क्रान्तिकारी दिशा प्रदान गरेका छौं। हाम्रो यो काम मुलुकको संविधान र दल विभाजनको कानुनी मान्यतामा आधारित छ। अतः एमाले भित्रको क्रान्तिकारी धार – नेकपा (एकिकृत समाजवादी) द्वारा मुलुकको कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्ने काममा दृढताका साथ अघि बढ्ने पहल भएको छ।

वास्तवमा हाम्रो यो विद्रोह कुनै व्यक्ति विशेष वा व्यक्तिगत स्वार्थको लागि होइन, नवौं महाधिवेशनका निष्कर्षहरु र राजनीतिक कार्यदिशालाई अस्विकार गर्ने, जननेता मदन भण्डारीका विचार तथा जनताको बहुदलीय जनवादका मान्यताहरुलाई कुल्चने, संगठनात्मक सिद्धान्त, जनवादी केन्द्रीयता, पार्टीको विधान, पद्दति विपरित कार्य गर्ने, षडयन्त्रमुलक ढंगले पार्टी नेतृत्व कब्जा गर्ने र पार्टी भित्रको क्रान्तिकारी धारलाई समाप्त गर्न चाहने एमालेको ओली गुटको दम्भ, व्यक्तिवादी, गुटवादी, सर्वसत्तावादी, निरंकुश, तानाशाही तथा नोकरशाही सोँच र प्रवृत्तिका विरुद्ध गरिएको विद्रोह हो भन्ने कुरा हाम्रो पार्टीले अघि सारेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र व्यवहारिक मान्यताहरुले समेत पुष्टि हुँदै गइरहेको छ।

हाम्रो पार्टीको राजनीतिक कार्यदिशा शान्तिपूर्ण संघर्ष र वैधानिक बाटोबाट समाजवाद निर्माण गर्नु हो। हाम्रो रणनीतिक उद्देश्य लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्नु हो। यतिवेलाको तात्कालिक कार्यनीति समाजवाद उन्मुख सामाजिक–आर्थिक रुपान्तरण हो। नेपाली क्रान्तिको वर्तमान चरणको कार्यक्रम बहुदलीय प्रतिस्पर्धा सहितको समाजवाद हो। यसका लागि हाम्रो विकासको दिशा ‘प्रगतिशील विकासको दिशा’ अर्थात आम रुपमा राष्ट्र र जनताको, विशेष गरी श्रमजीवी वर्गको हित र समृद्धिलाई अवलम्बन गर्दै आत्मनिर्भर स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु हो।

हामी पार्टी निर्माण गर्ने, सरकार संचालनमा भूमिका खेल्ने र नेपाली विशेषताको समाजवाद निर्माण गर्ने अठोट गरेका छौं। हामी माक्र्सवाद लेनिनवाद र जननेता मदन भण्डारीका विचार तथा जनताको बहुदलीय जनवादको मूल्य र मान्यतामा आधारित नेपाली विशेषताको समृद्ध समाजवाद निर्माण प्रति पूर्ण प्रतिवद्ध छौं। यहि मान्यताका साथ हामी पार्टी निर्माणमा अघि बढेका छौं र राष्ट्र एवम् जनताको हितमा सरकार संचालनमा महत्वपूर्ण भूमिका खेलिरहेका छौं।

२ केन्द्रीय सचिवालयका केही महत्वपूर्ण निर्णयहरू

पार्टी केन्द्रीय कमिटी तथा स्थायी कमिटीको बैठक पछि यसबीचमा पार्टी निर्माण र संचालनको सन्दर्भमा पार्टीको केन्द्रीय सचिवालयले केहि महत्वपूर्ण निर्णयहरु गरेको छ। त्यसमध्ये पार्टी कामलाई देशव्यापी रुपमा व्यवस्थित गर्न आवश्यकता अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको कार्यक्षेत्र र जिम्मेवारी तोक्ने, स्थायी कमिटी तथा केन्द्रीय कमिटीका केहि कमरेडहरुको जिम्मेवारी हेरफेर गर्ने काम भएको छ। यसैबीच आवश्यकतानुसार केही विभागहरु पनि गठन भएका छन्। प्रवासमा छरिएर रहेका क्रान्तिकारी नेपालीहरु बीचको हाम्रो सम्पर्क र सम्बन्धलाई विस्तार गर्ने र सुदृढ गर्ने योजना समेत अघि सारिएको छ।

यतिवेला हामी पार्टी निर्माणको क्रममा छौं। पार्टीको विधान अनुरुप आफ्नो पार्टी पंक्तिलाई संगठित गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, नयाँ पार्टी सदस्यता वितरण गर्ने एवम् पार्टी सदस्यता वितरण गर्दा श्रमजीवी वर्गबाट आएका आदिवासी, दलित, जनजातीका युवा पंक्तिलाई प्राथमिकताका साथ ४० प्रतिशत स्थान दिने, महिलाहरुलाई विशेष महत्वका साथ समेटने र  वुद्धिजीवी तथा कम्युनिष्ट आन्दोलनमा कृयाशील एवम् कम्युनिष्ट आन्दोलनको पक्षधर पाका र अनुभवीहरुलाई ससम्मान पार्टी सदस्यता प्रदान गर्ने नीति हाम्रो नीति हो।

पार्टी सदस्यहरुलाई योग्यता, क्षमता र कृयाशीलताको आधारमा पार्टी कमिटीमा संगठित गर्ने तथा विभिन्न तहमा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरी पार्टी सदस्यहरुको सैद्धान्तिक तथा वैचारिक स्तरलाई उन्नत पार्ने काममा योजनावद्ध ढंगले लाग्न जरुरी छ। हाम्रो पार्टीले संगठन विस्तार सम्बन्धी तीन महिने कार्ययोजना पारित गरेर लागु गरिसकेको छ। कमरेडहरु सबै त्यसै अभियानमा लाग्नु भएकै छ। यो अभियान कार्तिक–मंसिर र पौष गरी तीन महिनाका लागि अगाडि बढाइएको छ र यो आउने पौष मसान्तमा समाप्त हुने छ।

पार्टी कार्यकर्ता तथा सदस्यहरुको पंक्तिद्वारा पार्टीका नीति, विचार र मान्यताहरु आम जनतावीच पुर्‍याउने ठोस योजनाका साथ  ‘३ महिने कार्ययोजना’ कार्यान्वयन गर्न अव बाँकी रहेको अवधिमा थप शक्तिका साथ सम्पूर्ण पार्टी पंक्ति परिचालित हुनु पर्दछ। जारी  ‘३ महिने कार्ययोजना’ लाई हामीले विशेष परीक्षाको रुपमा लिन जरुरी छ। उक्त कार्ययोजना सफलताका साथ सम्पन्न गर्न पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारीका साथ कृयाशील हुन र गराउन ठोस योजनाका साथ सबै पार्टी कमिटीहरुले ध्यान दिनुपर्छ।

‘३ महिने कार्ययोजना’  कार्ययोजनाको कार्यकाल अवधी सम्पन्न भए पछि हरेक कमिटीले समिक्षा बैठकको आयोजना गरी कार्ययोजना कार्यान्वयनका उपलब्धीहरु, त्यसमा रहन गएका कमी तथा कमजोरीहरुको समग्र समीक्षा र त्यसबाट प्राप्त शिक्षालाई शुत्रिकरण गरी समीक्षा बैठकको प्रतिवेदन हरेक तल्ला कमिटीले माथिल्लो कमिटीलाई (वडा कमिटीले सम्बन्धित पालिका कमिटीलाई, पालिका कमिटीले जिल्ला कमिटी, जिल्ला कमिटीले प्रदेश कमिटीलाई र सबै प्रदेश कमिटीले पार्टी केन्द्रीय कार्यालयमा) बुझाउने काम एक महिनाभित्र सम्पन्न गर्नुपर्नेछ।  त्यस पछि हामी यसको समीक्षा गर्नेछौं र नयाँ अभियानका साथ अगाडि बढ्ने छौं।

हाम्रो पार्टीको गठन र विस्तारको काम तथा पार्टीद्वारा प्रस्तावित योजना, नीति र कार्यक्रमको कार्यान्वयनले देशव्यापी रुपमा एउटा तरंग सिर्जना गरेको छ। प्रवासमा रहनु भएका क्रान्तिकारी कम्युनिष्टहरु समेत सकारात्मक ढंगले पार्टीको पक्षमा तरंगित भैरहेको छ। यस क्रममा क्रान्तिकारी कम्युनिष्टहरु पार्टीको वरिपरी संगठित हुन, सम्पर्क र सम्बन्ध विस्तार गर्न उद्यत रहेको देखिएको छ। यस्तो अवस्थामा पार्टी विभाजनपछि हामीसँग अलग हुनपुगेका र तटस्थ अवस्थामा रहेका कमरेडहरुलाई पनि हामीले नियमित रुपमा कमरेड्ली सम्बन्ध र सम्पर्क गर्ने, पार्टीको वरिपरि गोलबन्द गर्न प्रयत्न गर्ने र पार्टीको पक्षमा ल्याउने कामलाई पनि उत्तिकै महत्व दिनुपर्दछ।

विभिन्न प्रदेश र जिल्लामा कार्यरत क्रान्तिकारी व्यक्ति, समुह र केही नयाँ पार्टी समेत एक पछि अर्को गर्दै हाम्रो पार्टीमा संगठित र आवद्ध हुँदै गईरहेका छन्। अरु केहीलाई पार्टीमा आवद्ध गर्ने विषयमा सकारात्मक ढंगले छलफल चलिरहेको पनि छ। यसले सिंगो पार्टी पंक्तिको जोस, जाँगर, उत्साह र कृयाशीलतालाई अभिबृद्धि गरिरहेको छ।

३ राष्ट्रिय राजनीतिमा पार्टीको बढ्दो भूमिका

यसैबीच राष्ट्रिय राजनीतिमा ‘५ दलीय राजनीतिक गठबन्धन’ अझ प्रभावशाली हुँदै गएको छ। यसलाई आगामी निर्वाचनसम्म कायम राखेर अघिबढ्ने गठबन्धनमा संलग्न राजनीतिक दलहरु बीचमा आपसी समझदारी बनेको छ। विभिन्न प्रदेश र जिल्लामा समेत ५ दलीय गठबन्धनको संयन्त्र निर्माण गर्ने प्रक्रिया अघिबढेको छ। यसै शिलसिलामा हाम्रो पार्टी संघीय सरकार संचालनमा ४ महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारीका साथ ५ जना मन्त्रीमण्डलमा सहभागी हुँदै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेको छ। त्यसका साथै बागमती प्रदेश र प्रदेश नं १ मा मुख्यमन्त्रीको जिम्मेवारीका साथ प्रदेश सरकार संचालनमा हाम्रो पार्टीले नेतृत्व गरिरहेको छ। यसरी नै स्थानीय सरकार संचालनमा पनि हाम्रो पार्टीको भूमिका महत्वपूर्ण र प्रभावकारी बन्दै गएको छ। सुदुर पश्चिमाञ्चल प्रदेशमा हाम्रो पार्टी सवैभन्दा ठुलो दल भएको छ।

एमालेको ओली नेतृत्व आफ्नै गलत नीति, विचार र प्रवृत्तिका कारण संघीय सरकार संचालनमा रहेको नेतृत्वकारी भूमिका गुमाउन पुगेको छ। त्यसरी नै लुम्बीनी प्रदेश सरकार सञ्चालनमा मूख्यमन्त्री सहित नेतृत्व गरिरहेकोमा त्यहाँबाट विस्थापित हुनपुगेको छ। त्यसपछि क्रमशः गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ को सरकार संचालनमा मुख्यमन्त्री सहित प्रदेश सरकारको नेतृत्वदायी भूमिकाबाट क्रमशः एक–एक गर्दै गिर्दै गएको छ र त्यो विस्थापित हुन पुगेको छ। यी सबै परिघटनाहरु एमालेको ओली नेतृत्व गुटको गलत नीति, विचार र प्रवृत्ति तथा स्वेच्छाचारी, सर्वसत्तावादी अहं र दम्भ नै मुख्य कारण बन्न पुगेको छ।

राष्ट्रिय राजनीतिमा एमालेको ओली नेतृत्व गुटले आफ्नो भूमिका र शाख क्रमशः गुमाउँदै गएको छ र उसको हैसियत गिर्दै ओरालो लाग्न पुगेको छ। यस्तो अवस्थामा हाम्रो पार्टीको भूमिका र हैसियत भने राष्ट्रिय स्तरमा नै क्रमशः माथी उठ्दै र बढ्दै गएको छ। मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेका यी सबै परिघटनाहरुले हाम्रो पार्टीको गठन र यसको औचित्यतालाई हाम्रो पार्टी नेतृत्व र पार्टीले लिएको नीति, कार्यक्रम र यसको व्यवहारिक सहीपनाको पुष्टि हुँदै गइरहेको छ। 

त्यसरी नै नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि एमालेको ओली नेतृत्व गुटले लिएको राष्ट्रिय आत्मसमर्पणवादी, दक्षिणपंथी विसर्जनवादी विचार तथा व्यक्तिवादी, गुटबन्दी र स्वेच्छाचारी सर्वसत्तावादी विचार र प्रबृत्तिका विरुद्ध विद्रोह गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को गठन एक ऐतिहासिक आवश्यकता बनेको थियो भन्ने पुष्टि भैरहेको छ।

म हाम्रो पार्टीका सम्पूर्ण कमरेडहरुलाई कम्युनिस्ट आन्दोलनमा देखापरेको विकृति–विसंगति, व्यक्तिवाद र गैर-कम्युनिस्ट विचार, आचरण तथा कार्यशैलीका विरुद्ध तथा कम्युनिस्ट आन्दोलनको नयाँ पुनरगठन एवं पुनरजागरणका पक्षमा वैचारिक संघर्ष–बहस–विमर्शमा उत्रिन र यस सम्बन्धमा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्नका लागि आव्हान गर्दछु।  यसका लागि पार्टीको सिंगो पंक्तिले आफ्नो वैचारिक–सैद्धान्तिक अध्ययनलाई गहन र व्यापक बनाउन जरुरी छ । गहन वैचारिक÷सैद्धान्तिक अध्ययन र सामूहिक विमर्श बिना सामाजिक मुक्ति आन्दोलनको नेतृत्व  गर्न सकिन्न भन्ने हेक्का हामी सबैलाई हुनुपर्दछ। छिट्टै पार्टीको स्कूल विभागले पढ्ने र पढाउने अभियानलाई सुदृढ योजनाका साथ अगाडि बढाउने नै छ भन्ने विश्वास मैले लिएको  छु।

अब म तीन महिने अभियान अन्तर्गत गर्नु पर्ने जनसम्पर्क विस्तार एवम् आर्थिक व्यवस्थापनको कामबारे केही थप कुरा प्रस्तावित गर्न चाहन्छु।

४ जनसम्पर्क विस्तार र अर्थ संकलन अभियान

यो तीन महिने अभियान अन्तर्गत कम्तिमा पनि सबै जिल्लामा जिल्ला पार्टी कार्यालय स्थापना गर्नुपर्ने छ। कतिपय जिल्लाहरुले वार्ड तहसम्म कार्यालय स्थापना गरेका छन्, यो खुसीको कुरा हो। पार्टी काम विस्तारका लागि कार्यालय नभै नहुने संरचना हो। व्यवस्थित कार्यालयले संगठन परिचालनमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ। व्यवस्थित कार्यालय सञ्चालनका लागि आर्थिक श्रोत चाहिन्छ। हाम्रो पार्टीले आफ्नो आर्थिक स्रोतका लाागि जनतामै भर पर्नु पर्दछ। हामीलाई समर्थन, सहयोग र मायाँ गर्ने आम जनताले स्वेच्छाले दिने सहयोग नै हाम्रो आर्थिक सहयोग संकलनको सबैभन्दा भरपर्दो माध्यम हो।

पार्टी सदस्यहरुबाट पार्टीको विधान अनुसार मासिक लेवी उठाउने कुरालाई पार्टीको नियमको रुपमा कार्यान्वयन गर्ने र पार्टी पक्षीय समर्थक तथा शुभचिन्तकहरुबाट मासिक सहयोग संकलन गर्ने विषयलाई पनि उत्तिकै महत्वका साथ लिनु पर्छ। त्यसैले पार्टी निर्माण र संचालन गर्ने काम पनि हामी जनतामा नै आधारित भएर गर्नुपर्छ भन्ने मान्यता राख्दछौं। पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालय संचालन गर्न लाग्ने अनुमानित खर्चको आधारमा पार्टी लेवी, सहयोग र विशेष सहयोग संकलन गर्ने, राज्यसत्ता संचालनमा अर्थात संघीय, प्रदेश र स्थानीय सरकार संचालनमा संलग्न पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधिहरुबाट मासिक लेवी संकलन गर्ने कामलाई पनि नियमित गर्नुपर्दछ। हामी आधारभूत रुपमा जनतामा आधारित भएर, पार्टीका नेता, कार्यकर्ता, सदस्य तथा शुभचिन्तकहरुमा आधारित भएर पार्टीको आर्थिक व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता राख्दछौं। यसै मान्यताका साथ पार्टीको आर्थिक व्यवस्थापनमा विशेष ध्यान दिनु पर्दछ।

यसका अतिरिक्त विभिन्न सामाजिक सांस्कृतिक सुधारका नारा र उक्तिहरु लेखिएका स्टिकरहरु विक्री वितरणको योजना प्रस्ताव गर्दछु। यसका लागि सबै जिल्ला र पालिकास्तरका कमिटीहरुले गाउँ–शहरका चोक–चोकमा र घर–दैलोसमेत गरी स्टिकर बिक्री गर्ने अभियान सञ्चालन गर्नु पर्ने छ। यस कामका लागि मंसिर १५ देखि मसान्तसम्मको समय प्रस्तावित गर्दछु।

यस अभियानबाट आम जनताको घरदैलोमा जाने मौका मिल्ने, जनसम्पर्कको विस्तार हुने, जनपक्षीय सांस्कृतिक चेतना जागृत हुने, जातीय भेदभावको भावना हटाई समानताको भावना विकसित हुने र पार्टीका लागि आर्थिक संकलन समेत हुनेछ। यस अभियानमा स्टिकर विक्री गरी आर्थिक संकलन गर्नुका साथै पार्टी सदस्यता विस्तारको कामसमेत गर्न सहज हुनेछ। यस अभियानमा स्टिकर बिक्रि–वितरण गर्दा उठ्ने रकमको २० प्रतिशत पालिका कमिटीमा, २० प्रतिशत जिल्ला कमिटीमा, २० प्रतिशत प्रदेश कमिटीमा र ४० प्रतिशत केन्द्रीय कमिटीमा पठाउने गरी व्यवस्था मिलाउन पनि प्रस्ताव गर्दछु।

हामी जनआधारित कार्यकर्ताहरूको पार्टी बनाउन चाहन्छौं। हाम्रो शक्तिका स्रोत भनेका आम नेपाली जनता नै हुन भन्ने कुरालाई सदैव स्मरण गरौं।

५ पार्टीलाई आधारभूत वर्गमा पुर्‍याउँ, युवाहरुलाई व्यापक रुपमा संगठित गरौं

कम्युनिस्ट आन्दोलनको पुनर्गठनका दुईवटा आयाम छन्– वैचारिक र सांगठनिक। वैचारिक रुपमा पार्टीको पुनर्गठन भनेको वर्तमान सन्दर्भमा समाजवादी कार्यक्रम के–कसरी अगाडि बढाउने भन्ने हो। यसका लागि हामीले केही खाका अवश्य कोरेका छौं र यसबारेमा अध्ययन, अनुसन्धान, छलफल र विमर्श अगाडि बढाउने छौं। सांगठनिक पुनर्गठन भनेको कम्युनिस्ट पार्टीलाई व्यापक रुपमा नयाँ पुस्तामा पुर्‍याउनु हो।

हामीले हाम्रो विचारसँग सहमत १६ वर्षभन्दा माथिका सबै उमेर र पेशा–ब्यवसायका मानिसलाई संगठित गर्ने अभियान सञ्चालन गर्नेछौं। यसका साथै हाम्रो मुख्य ध्यान ४० वर्ष मुनिका युवाहरुलाई पार्टीमा संगठित गर्ने कुरामा केन्द्रित हुन आवश्यक छ। यस कुरालाई प्रमुखताका साथ लागु गर्न सकियो भने आउने अर्को तीस वर्षका लागि कम्युनिस्ट आन्दोलनको भरपर्दो पुस्ता तयार हुनेछ। यसरी तयार भएको नयाँ पुस्ताले पुनः अर्को नयाँ कम्युनिस्ट पुस्ता तयार गरी वैज्ञानिक समाजवादी आन्दोलनलाई झन्झन् सुदृढ गर्दै लैजानेछ।

युवाहरुलाई आधारभूत तहदेखि नै संगठित र प्रशिक्षित गर्दै अगाडि बढाउन सकियो भने मात्र पार्टी संगठन दिगो र टिकाउ हुन सक्छ। पार्टीका टोल र गाउँ एवं जनसंगठनका विभिन्न कमिटीमा बसेर खारिएको युवालाई क्रमशः पार्टीका माथिल्ला कमिटीमा संगठित र पदोन्नति गर्दै लैजाने कुरामा ध्यान दिनु पर्दछ। यसो नगरी एक्कासी तानेर वा ‘क्रेनिङ’ गरेर लगिएको कुनै पनि जनशक्तिले काम गर्दैन।

अहिलेको युवा पुस्ताका धेरै सकारात्मक पक्षहरु छन्। अहिलेको नौजवान जमात नयाँ–नयाँ प्राविधिक ज्ञान सिक्ने, बुझ्नै मौका पाएको पुस्ता हो। यो पुस्ता खुला चेतनाले युक्त पनि छ। देशका लागि केही गरौं भन्ने भावना युवा पुस्तामा छ। यसबाहेक अहिलेको युवा पुस्ताका साथीहरुले सुधार्नै पर्ने केही पक्षहरु पनि छन्।

देशमा दुःख गर्न तयार नहुने, विदेश पलायनको मोह राख्ने, दुःख नगरी एकैपटक ठूलो कमाईको चाहना राख्ने, सांगठनिक क्षेत्रमा पनि दुःख गर्न तयार नहुने र एकै पटक माथिल्लो पदमा पुग्न पाए सबैथोक हुन्छ भन्ने ठान्ने, अध्ययन नगर्ने र टापटिपे भाषण गरी आएको तालीबाट संगठन निर्माण हुन्छ भन्ने भ्रम पाल्ने, एकले अर्कालाई सहयोग गर्नुको साटो खुट्टा तान्ने, गुटबन्दी गर्ने, खर्चिलो र अपारदर्शी जीवनशैली अपनाउने, चारित्रिक, सांस्कृतिक विचलनलाई सामान्यरुपमा लिनेजस्ता गलत प्रवृतिहरु अहिलेको तन्नेरी पुस्ताले सच्याउनै पर्दछ। जसरी धान पनि ढिकीको मुशल वा मेसिनको प्रहारबाट मात्रै चामल बन्छ, भट्टीमा खारिएर तयार भएको सुन हजारपटक तेजाबमा खार्दा झन्झन् तेजिलो भएर निस्कन्छ, त्यसरी नै जीवन र जगतप्रतिको दृष्टिकोणमा खारिएको चेतनायुक्त युवा तयार गरी पार्टीको नेतृत्वमा विकसित गर्दै लैजाने सोंचका साथ हामी अघि बढि रहेका छौं। धेरै दुःख गरेर मात्रै जनताको मन जित्न सकिन्छ र अनि मात्रै आफूमा नेतृत्व क्षमताको विकास हुन्छ भन्ने कुरा अहिलेको युवा पुस्ताले बुझ्नै पर्दछ।

६ खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गरौं, भ्रष्टाचारको मुहान बन्द गरौं

हाम्रा विभिन्न तहका निर्वाचनहरु झन्पछि झन् खर्चिला हुँदै गएका छन्। हामी एकपटक स्मरण गरौं, २०४८ सालको पहिलो आम निर्वाचनमा हाम्रो तत्कालिन पार्टी एमालेले ६९ संसदीय स्थानमा विजय प्राप्त गरी देशको प्रमुख प्रतिपक्षको स्थानमा पुगेको थियो। बुर्जुवा चुनावको अनुभव नभएको पुस्ताले हाँकेको चुनावमा भूमिगत अवस्थाबाट एक्कासी बाहिर आएर प्रतिस्पर्धा गर्दा त्यति स्थान जित्नु धेरै ठूलो सफलता थियो। यसैगरी अर्को कम्युनिस्ट घटकको तर्फबाट निर्वाचन लडेको संयुक्त जनमोर्चाले ९ स्थान जितेको थियो । त्यतिखेर हामी कम्युनिस्ट पार्टीका उम्मेदवारहरूले केही हजार रुपियाँको खर्चले निर्वाचन सञ्चालन गरेका थियौं।

तर, अहिले निर्वाचन खर्च डरलाग्दो छ र इमान्दार एवम् प्रतिबद्ध कार्यकर्ता निर्वाचन लड्ने वा निर्वाचनमा टिकट लिन डराउने अवस्था छ। यसलाई सच्याउन सकिएन भने राजनीति गलत मानिसको हातमा जाने संभावना छ।

अतः हामी खर्चिलो निर्वाचन प्रणाली सुधार्न तथा कम खर्चमा हरेक तहका निर्वाचन सञ्चालन गर्ने प्रणाली विकसित गर्न कटिबद्ध छौं। हामी सके देशको निर्वाचन कानुनमा आवश्यक सुधार गरेर निर्वाचनलाई कम खर्चिलो, स्वस्थ र पारदर्शी बनाउन चाहन्छौं भने कानुन सुधार्न नसकेको अवस्थामा पनि आफ्नो तर्फबाट नमुना प्रस्तुत गर्ने छौं। म अहिले नै आव्हान गर्न चाहन्छु, हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का हरेक तहका उमेदवारले कमभन्दा कम खर्चमा निर्वाचन परिचालन गरेर नमुना प्रदर्शन गर्ने छन्। यो सन्देशलाई गाउँगाउँमा पुर्‍याउनका लागि म सबै कमरेडहरूलाई हार्दिक आव्हान गर्न चाहन्छु।

७ पार्टी भित्र असल संस्कार र संस्कृतिको विकास गरौं

हाम्रो पार्टी गठनको उपादेयता तथा यसको सशक्त भूमिका र श्रेष्ठतालाई स्थापित गर्न हामीले धेरै मेहनत गर्नुपर्ने, नयाँ नयाँ विचार सोंच र नवीन मान्यतालाई अगाडि सार्नु पर्ने, वोली र व्यवहारमा एकरुपता कायम गदै हाम्रो विश्वसनीयता र प्रतिष्ठा बढाउदै जनतावीच आफूलाई लोकप्रिय बनाउने, जनताको आशा भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता छ। यसका लागि निम्न बुँदाहरुमा म सिंगो पार्टी र नेतृत्व पंक्तिको ध्यानाकर्षित गर्दछुः

क. इमान्तारिता, निष्ठा र समर्पणको भावना र मेहनत गर्ने र पाएको जिम्मेवारी समयमा पूरा गर्ने प्रवृतिको विकास गर्नेस

ख. लोकतान्त्रिक मूल्य मान्यतालाई अवलम्बन गर्दै व्यापक छलफल, सल्लाह र विचार विनिमय गर्न, अरुको कुरा ध्यान दिएर सुन्न र समस्याको हल गर्न विशेष ध्यान दिंदै सामुहिकताको भावनालाई पालना गर्नेस

ग. राम्रो संस्कृति र संस्कारको पक्षपोषण गर्दै त्यसलाई आत्मसात गर्ने

घ. माक्र्सवाद र कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने

ङ. अध्ययन– अनुसन्धान र नवीन खोजको निम्ति सृजनात्मक प्रविधिलाई प्रोत्साहित गर्ने

च. प्रत्येक कामको योजना बनाउँदा वस्तुवादी र व्यवहारिक हुने

छ. कामको निरन्तर अनुगमन र सुपरीवेक्षण गर्ने

ज. कामको मूल्याङ्कन र विश्लेषण गर्दै राम्रो गर्नेको प्रशंसा र नराम्रो गर्नेलाई (शिक्षा चेतावनी) आलोचना गर्ने

झ. ठूला ठूला कुरा र हावादारी गफ नगर्ने, उपयोगी र व्यवहारिक कुरा र काम गर्ने

ञ. समयको पावन्दीमा रहने, तोकिएको काम र जिम्मेवारीमा केन्द्रित हुने

ट. गुणस्तरीय, किफायती र तोकिएको समयभित्र काम र परिणाम दिने गरी काम गर्ने

ठ. सादा जीवन, स्वच्छ आचरण र असल विचारलाई आत्मसात गर्ने

ड. गलत प्रवृत्तिका विरुद्ध दृढताकासाथ जुध्ने

ढ. सत्य र न्यायको पक्षमा सतिसाल झै उभिने

८ जनसाँस्कृतिक अभियानलाई पुनर्गठित गरौं, गाँउ–सहरलाई जागृत गरौं

प्रिय कमरेडहरु, हाम्रा विचार र सिद्धान्त गीत, कविता, नाटक, नृत्य र अभिनयका साथै ललितकलाका विभिन्न माध्यमबाट समेत व्यक्त हुनु पर्दछ। यसका लागि विभिन्न स्थानमा छरिएर रहेका कलाकारहरूलाई गोलबन्द गर्न आवश्यक छ।

प्रगतिशील साहित्यिक–सांस्कृतिक आन्दोलन वर्षौंदेखि सुस्ताएको जस्तै देखिन्छ। धेरै पहिलेदेखि नयाँ क्रान्तिकारी गीत, नाटक, उपन्यास लेखिएका छैनन्, न त गरीबका पीडा झल्काउने चित्र र मूर्ती नै कुँदिएका छन्। पुरानो सन्दर्भमा लेखिएका र गाइएका कतिपय गीत अझै पनि कालजयी छन् तर तिनले मात्र पुग्दैन। यसैले जनताका वर्तमान समस्या उजागर गरी समाधान गर्ने शब्दले उनीएका गीत, कविता लेखिनु र गाइनु पर्दछ भने नाटक, कथा र उपन्यास लेखिनु र मञ्चन समेत गरिनु पर्दछ।

कम्युनिस्ट आन्दोलन भित्र के–कसरी व्यक्तिवाद, अहंकार र दम्भले जरा गाड्यो, किन विद्रोह गरी नयाँ कम्युनिस्ट पार्टी बनाउनु पर्‍यो, अबको समाजवादी बाटो के–कस्तो हुने हो, हाम्रा आफ्नै बानी–बेहोरा र चालचलनमा के–कस्ता सुधार हुनु पर्ने हो जस्ता विषयमा गीत, कविता, नाटक इत्यादि लेखिनु, गाइनु र अभिनय गरिनु, चित्र कोरिनु, मूर्ती बनाइनु, उपन्यास लेखिनु इत्यादि आवश्यक छ। यस दिशामा लाग्न म सबै प्रगतिशील लेखक–कलाकारहरुलाई हार्दिक आव्हान गर्दछु।

९ पार्टी र जनसंगठनका कार्यक्रमलाई छरितो र कम खर्चिलो बनाऔं

हाम्रो पार्टीमा पनि हिजोको एमालेकालिन कतिपय गलत तौर–तरिका कायमै रहेका छन्। कार्यक्रममा उपस्थित भएभरिका माथिल्लो कमिटीका मानिसहरुलाई मञ्चमा आसन ग्रहण गराउनै पर्ने, मञ्चमा भएजति सबैले बोल्नै पर्ने गलत परंपरालाई अब हामीले छोड्नै पर्छ। प्रत्येक अतिथिको नाम र पद भनेर आसन ग्रहण गराउँदा धेरै समय मात्र लाग्ने भएकोले यो सहित प्रत्येक वक्ताले सबैजसो अतिथिको नाम लिंदै सम्बोधन गर्ने प्रचलन बन्द गर्नै पर्छ। कार्यक्रम छोटो र छरितो गर्ने, वक्ताले तोकिएको समयमा र निर्धारित विषयमा आफ्नो मन्तव्य सक्ने परिपाटी बसाउनु पर्दछ। फुल माला, खादा र ब्याचको प्रचलनलाई पनि नियन्त्रण गर्नुपर्छ। बस वा एअरपोर्टमा जुलुस सहित स्वागत गर्न पुग्ने र कार्यक्रम रोकी कुरेर बस्ने पवृत्तिमा पनि सुधार गर्नै पर्छ।

१० कम्युनिस्ट कार्यशैली अपनाऔँ, आलोचना–आत्मालोचनाको प्रणालीलाई पुनर्जीवित गरौं

हामी द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्दछौं। यस दर्शन प्रणालीले हरेक पदार्थ, चिन्तन, राजनीतिक पार्टी र तिनका कार्यप्रक्रिया, हरेक व्यक्ति इत्यादि सबैमा सकारात्मक र नकारात्मक पक्ष हुन्छन् भनेर व्याख्या गर्दछ।

कामको दौरानमा जतिसुकै ठूलो नेता वा कार्यकर्ताबाट गल्ति कमजोरी हुन सक्छन्। अरुले गरेको गल्तिलाई मित्रतापूर्वक औँल्याइ दिने काम आलोचना हो भने आफ्नो गल्ति स्विकार्ने काम आत्मालोचना हो। हाम्रो पार्टीका हरेक बैठकमा आलोचना–आत्मालोचनाको विषयलाई एजेण्डामै राखेर नियमितरुपमा छलफल चलाउनै पर्दछ। यसो गरेर मात्रै हामीले आफूलाई सही कम्युनिस्टको रुपमा खार्दै लैजान सक्छौं।

हाम्रा सबै तहका नेता–कार्यकर्ताहरु आफू बसेको समाजका लागि र आफ्नो कार्य क्षेत्रका लागि आदर्श बन्नै पर्दछ। हामीले एकातिर समाजलाई अग्रगतिमा लैजानका लागि संघर्ष गर्नै पर्दछ भने समाजमा अपाच्य हुने गैर कम्युनिस्ट आचरण र चालचलनबाट जोगिनै पर्दछ।

विचार, सिद्धान्तमा पोख्त र निजी तथा सामाजिक आचरणमा सरल, पारदर्शी र स्वच्छ व्यक्तिले मात्रै समाज परिवर्तनको काममा अगुवाई गर्न सक्छ । म अपेक्षा गर्दछु की हाम्रा हरेक नेता–कार्यकर्ताहरुले यस पक्षलाई सदैव ध्यानमा राख्नु हुनेछ ।

११ सरकारमा जानुभएका मन्त्रीहरुले जिम्मेवारीपूर्वक काम गर्नुहोस्

संविधान र लोकतन्त्र जोगाउनका लागि हामीले अहिलेको राजनीतिक समीकरण निर्माण गरेका हौं। हाम्रै प्रमुख पहलमा वर्तमान गठबन्धन बनेको हो ता पनि कतिपय कानुनी समस्याका कारण हाम्रो पार्टीले आकार लिन र निर्वाचन आयोगमा दर्ता हुन समय लाग्यो। यसैले हाम्रो तर्फबाट ढिलोगरी भए पनि संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीसहित एक राज्यमन्त्री, शहरी विकास, पर्यटन तथा नागरिक उड्ययन एवं श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री पठाउन सफल भएका छौं। यसैगरी प्रदेश नम्बर–१ र बागमती प्रदेश सरकारको नेतृत्व गर्ने मौका मिलेको छ। यसका साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा पनि सरकारमा सहभागिता रहेको छ । अब छिट्टै प्रदेश नं २ को सरकारमा पनि हाम्रो सहभागिता हुनेछ।

मन्त्री हुनु भनेको, हाम्रो विचारमा पार्टी कामकै एक अंग हो, जनसेवाको क्षेत्र हो। यसैले हाम्रा संघ वा प्रदेशका मन्त्री, मुख्य मन्त्री सबैले आ–आफ्नो क्षेत्रमा भएको साधन–स्रोतको उचित र अधिकत्तम परिचालन गरी जनतालाई बढीभन्दा बढी सेवा–सुविधा दिन, सुशासन कायम गर्न र नयाँ–नयाँ रचनात्मक काम गरी पार्टीको सकारात्मक छाप छोड्नका लागि मिहिनेत गर्नै पर्दछ, यसका लागि बुद्धि खियाउनै पर्दछ। हाम्रा मुख्य मन्त्री र सबै तहका मन्त्रीहरुले कुनै पनि विवादास्पद काम नगर्नुहोस्, त्यस्तो गरेको सुन्नु नपरोस् भन्ने हाम्रो कामना छ। राजकीय काममा सहयोग गर्ने गरी योग्य व्यक्ति छनौट गर्न एवम् सही निर्णय लिन सहयोग होस् भनी पार्टीले राजकीय मामिला विभाग बनाएको छ, सो विभागको सिफारिसमा पार्टी सचिवालयको निर्णय एवम् गठबन्धन सरकारको भावना अनुरुप पार्टी नेतृत्वले दिने निर्देशनलाई हाम्रा मन्त्रीहरुले कडाईका साथ पालन गर्नुपर्नेछ।

१२ ओहदामा रहनेहरूले विशेष ध्यान दिऔँ

सरकारमा वा पार्टीको सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुको छनौट र आचरणका बारेमा पनि म केही कुराहरु बुँदाकै रुपमा प्रस्तुत गर्दछु।

क. कुनै पनि सरकारी काम गर्दा भ्रष्टाचार र अनियमितताबाट जोगिनु पर्छ। लोभ यस्तो चीज हो, एक पटक जागेपछि त्यो निरन्तर बढदै जान्छ र मानिस त्यसमा चुर्लुम्म डुब्न पुग्छ

ख. कुनै पनि नियुक्ति र निजी काम वापत पैसा लिने काम गरिनु हुन्न

ग. राष्ट्र र सरकारलाई नोक्सान हुने कुनै पनि काम गर्न हुन्न

घ. मूल्य बढाएर, गुणस्तर घटाएर वा समय सीमालाई लब्याएर पैसा कमाउने कुरालाई साथ दिने वा प्रोत्साहन गर्ने कार्य कुनै हालतमा पनि गरिनु हुन्न

ङ.प्रत्येक क्षेत्र (चाहे सरकारी होस वा पार्टी)को कामका समस्या के के छन ? त्यसका कारणहरु के के हुन ? त्यसको समाधान के के हुन सक्छ भन्ने वारेमा व्यापक खोजवीन अध्ययन विश्लेषण गरी निष्कर्षमा पुग्नुपर्छ

च. अनुचित काम गर्नेहरु, बदनामी कमाएकाहरु तथा काममा सफल नदेखिएकाहरु वा असफल भएकालाई पुरस्कृत गर्ने र प्रोत्साहित गर्ने काम गरिनुु हुन्न

छ. एउटै व्यक्तिलाई पटक पटक लाभको पद र विभिन्न राजकीय पद वा नियुक्ति दिने प्रवृत्तिलाई नियन्त्रण गरि विधि र पद्धती स्थापित गरिनुपर्छ

ज. एउटै व्यक्तिले अनेक काममा हात हाल्ने, एक भन्दा बढी कार्यकारी जिम्मेवारी  दिने परिपाटी रोक्नुपर्छ। एक व्यक्ति एक प्रमुख कार्यकारी पदको परिपाटी स्थापित गर्नुपर्छ

झ. समस्यामा परेका कार्यकर्ताको समस्या समाधान गर्ने कुरालाई उच्च महत्व दिनुपर्छ र प्राथमिकतामा राखी त्यस्ता समस्यालाई हल गर्ने काम गर्नुपर्दछ

ञ. पार्टी अफिसलाई व्यवस्थित गर्ने, रेकर्ड सिस्टमलाई स्थापित गर्ने, तथ्य तथ्याङ्क संकलन गर्ने कुरामा जोड दिदै त्यस आधारमा विश्लेषण र मूल्याङकन गरिनुपर्छ

१३ पार्टीभित्र पद प्रति आशक्तिको प्रवृत्तिलाई परास्त गरौं

अहिले आफुलाई केन्द्रमा राखेर सोंच्ने र चल्ने प्रवृत्ति व्यापक रुपमा देखिन्छ । देश, जनता र पार्टीलाई दोस्रो (कम) महत्व दिने प्रवृत्ति बढेको छ। त्याग, निस्वार्थता, समर्पण र निष्ठाको भावना घट्दो छ । यस्ता प्रवृत्तिका विरुद्धमा हाम्रो पार्टीमा व्यापक वैचारिक अभियान चलाउनु जरुरी छ।

देश, जनता र पार्टीको अहितमा काम गर्ने प्रवृत्तिका विरुद्ध दृढताका साथ जुझ्नु र त्यस्ता प्रवृत्ति बोक्ने, त्यसको पक्षपोषण र संरक्षण गर्ने कुरालाई परास्त गर्नुपर्दछ । पदमा जसरी पनि पुग्ने अनि त्यसलाई ओगटेर बस्ने प्रवृत्ति बढिरहेको पाइन्छ ।

प्रत्येक नेता र कार्यकर्तालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, टोल वा वर्ग, पेशा, क्षेत्र, समुदायको ठोस जिम्मा दिने र त्यहाँ पार्टी सदस्यता वितरण,  गठन, कमिटीको वैठक आयोजना, भेला–प्रशिक्षणको आयोजना वा सामाजिक चेतना वा सुधार अभियान सञ्चालन गरेको आधारमा निजको कामको मूल्यांकन गरिनुपर्छ। जिम्मेवार व्यक्तिले आफ्नो कामको मासिक प्रतिवेदन प्रत्येक महिनाको १ गते आफु संगठित भएको तहको नेतृत्वलाई बुझाउनु पर्नेछ। केन्द्रीय का सदस्यको हकमा केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ। यसबाट काम गर्ने वा पद मात्र ओगटेर बस्ने, संगठन विस्तार र परिचालनको काममा जुट्ने वा पार्टी काममा निश्क्रिय भएर बस्ने व्यक्तिको बारेमा पार्टीको निगरानी हुनेछ। व्यक्तिको मूल्याङ्कन उसको सक्रियता, भूमिका र उसले निकाल्ने परिणामबाट नै गर्न सकिन्छ ।

१४ निर्वाचनको पूर्व तयारी गरौं

केन्द्रीय कमिटिको पहिलो बैठक (५–७ असोज २०७८) ले त्रैमासिक कार्य योजना अघिसारेको थियो। त्यस अनुसार ३ महिना भित्रै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, पालिकाहरु र सबै वडाहरुमा पार्टी कमिटिहरु गठन गरिसक्ने, जनसंगठनहरुका कमिटी पनि गठन गर्ने, सबै तहका कमिटिहरु आफ्नो तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने, पार्टीका दस्तावेजहरु अध्ययन गर्ने गराउने, प्रवासका सबै क्षेत्रमा प्रवासी नेपाली मञ्च गठन तथा पुनर्गठन गर्ने, प्रशिक्षण कार्यक्रम तथा सदस्यता वितरण अभियान संञ्चालन गर्ने, पार्टी सदस्यता नविकरण र वितरण गर्ने तथा ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ को योजना अघिसारेको थियो। त्यसरी नै हरेक जिल्लामा जिल्ला पार्टी कार्यालय खोल्ने निर्णय गरेको थियो । ती योजनालाई कार्यान्वयन गर्ने कमिटीहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु र बाँकी स्थानका कामलाई ठोस ढंगले अघि बढाउँदै निर्वाचनको पूर्व तयारीको कामसँग जोडेर कार्यान्वयन गर्न पार्टीका नेता, कार्यकता र सदस्यहरु ऐतिहासिक जिम्मेवारी बोधका साथ कृयाशील हुन आब्हान गर्दछु ।

हामी यतिवेला निर्वाचनको संघारमा पनि रहेका छौं। त्यसैले हाम्रो पार्टीको सम्पूर्ण कामहरु निर्वाचनको पूर्व तयारीको रुपमा समेत गरिनु पर्दछ। हरेक पालिकाको वडा वडामा पार्टी कामको विस्तारका साथै वडा वडामा पार्टी कार्यालय खोल्नु पर्दछ।

पार्टी कामको आधार अब प्रत्येक पालिकाका वडा वडामा केन्द्रीत गर्नुपर्दछ। हरेक वडा र वडाका टोल टोलमा पार्टी सदस्यता वितरण गर्ने, तीनीहरुलाई पार्टी कमिटिका साथै युवा संघ, अनेमसंघ, किसान महासंघ, खेलकुद महासंघ, पेशागत संगठन, वुद्धिजीवी संगठन आदि विभिन्न जनवर्गीय संगठनहरुमा आवद्ध गर्ने र स्वयंसेवक दल एवम् सांस्कृतिक कर्मीहरुको टिम निर्माण गर्ने काममा पनि उचित ध्यान दिई अघि बढाउन जरुरी छ। अहिलेदेखि नै मतदाताहरुको लिष्ट, छुट मतदाताहरु र उमेर पुगेका मतदाताहरुको नाम लिष्टको आवश्यक तयारी कार्यमा पनि उत्तिकै ध्यान दिन जरुरी छ।

पार्टीले संचालन गरेको ‘३ महिने कार्ययोजना’को कार्यान्वयनमा को कति सक्रियताका साथ आफ्नो जिम्मेवारी निभाएका छन् भन्ने कामको मूल्यांकनको आधारमा नै हामीले १६५ संघीय सांसद, ३३० प्रदेश सांसद, ७५३ पालिकाका मेयर/उपमेयर र ६७४२ वडा अध्यक्षहरुका साथै ३३,७१० वडा सदस्यहरुमा हाम्रो पार्टीको उम्मेदवारहरु तयार गर्ने काममा अहिलेदेखि नै लाग्नु पर्दछ।    

हामीले विद्रोह गरी नयाँ कम्युनिस्ट पार्टी बनाएका छौं। यसो गर्दा केन्द्रीय, प्रदेश  र जिल्ला तथा पालिकास्तरका  पनि शुरुमा मनोनयनको विधिबाट वा माथिबाट तोकेर बनाउनु पर्ने बाध्यता रह्यो। यसले गर्दा कतिपय स्थानमा वरियता, मर्यादाक्रम, जेष्ठताका साथै क्षमता र योग्यताको उचित कदर नभएको, समेटिनु पर्ने नेता–कार्यकर्ता छुट्नु भएको वा तुलनात्मक रुपमा कम क्षमता भएको कार्यकर्ता माथि तानिएको अवस्था पनि रहेको हुन सक्छ। शुरुका दिनमा यस्तो हुनु बिल्कुलै स्वाभाविक छ।

पछि कमिटीहरुका अधिवेशन हुँदैजाँदा लोकतान्त्रिक विधिबाट यस्ता समस्या समाधान हुँदै जानेछन्। यसैले केही कतै तलमाथि वा उचनिच भएको रहेछ भने पनि त्यस्ता विषयलाई सामान्य रुपमा लिई पार्टी निर्माणमा जोशका साथ जुट्नु हुन यसै बैठक मार्फत् देशभरीका तमाम कार्यकर्ता कमरेडहरुलाई हार्दिक आव्हान गर्दछु।

हामीले मार्क्सवाद लेनिनवादको सैद्धान्तिक मार्गदर्शन तथा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताका आधार नेपाली क्रान्ति सम्पन्न गर्ने अठोट गरेका छौं  यसका लागि हामी जनआधारित कार्यकर्ता पार्टी निर्माण गर्न र जीवनशैली अवलम्बन गर्न प्रतिवद्ध छौं । पार्टीको नेतृत्व प्रणाली ‘सामुहिक नेतृत्व र व्यक्तिगत उत्तरदायीत्व’को सिद्धान्तमा आधारित हुनेछ । हामीले ‘जनवादी केन्द्रीयता’को संगठनात्मक सिद्धान्तको आधारमा पार्टी निर्माण र परिचालन गर्नुपर्दछ भन्ने मान्यता राख्दछौं। हाम्रो पार्टीमा ‘नेता प्रधान होइन नीति प्रधान’ हो भन्ने मान्यता स्थापित गर्न चाहन्छौं। त्यसैले स्वेच्छाचारी ढंगले होइन, कुनै नेताको चाहनाले होइन पार्टीको विधान, विधि र पद्धतिलाई अनुसरण गरेर नै पार्टी संचालन गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ।

हामी जननेता मदन भण्डारीका विचार अनुरुप संविधानको सर्वोच्चता, कानुनी शासन र जनादेशको पालना गरी कम्युनिष्ट पार्टीले राज्यसत्ता संचालन गर्नुपर्छ भन्ने मान्यता राख्दछौं। नेपालको संविधान कार्यान्वयन गर्दै यसको संरक्षण र विकास गर्ने नीति प्रति र संघीय लोकतान्त्रिक गणतन्त्रको राज्यव्यवस्था प्रति हामी प्रतिवद्ध छौं। यहि मान्यतामा आधारित भएर यतिवेला संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार संचालनमा हाम्रो पार्टीको महत्वपूर्ण भूमिका रहेको छ।

निश्चित रुपमा पार्टी निर्माणको वर्तमान चरणमा हामीसंग केहि अनुकुलता र केहि प्रतिकुलताहरु छन्। हामी हाम्रा अनुकुलताहरुलाई कुशलता पूर्वक पार्टी, राष्ट्र र जनताको हितमा परिचालन गर्नेछौं। त्यसका साथै हाम्रा सामू उपस्थित प्रतिकुलताहरुलाई पनि हाम्रो सिर्जनात्मक क्षमता र रचनात्मकताको आधारमा अनुकलतामा परिणत गर्ने दृढ आँट, हिम्मत र साहस गरेका छौं।

नेपाली क्रान्तिको बाटो जतिसुकै वांङ्गो टिङ्गो र जटिल भए पनि हामी त्याग, वलिदान र समर्पणको भावनाका साथ हाम्रो घोषित लक्ष्य र उद्देश्यहरु प्राप्तिका लागि दृढतापूर्वक अघि बढिरहेका छौं । त्यसैले हाम्रो जीत सुनिश्चित छ, राष्ट्र र जनताको भविष्य उज्वल छ। नेपाल राष्ट्र र नेपाली जनताको उज्वल भविष्य निर्माण, नेपाली विशेषताको समाजवाद निर्माणका लागि सिंगो पार्टी पंक्ति रचनात्मक क्षमता र कृयाशीलताका साथ एकतावद्ध होऔं !

पार्टी निर्माणको प्रकृयामा जिम्मेवारी बोधको भावनाका साथ अनुशासित र कृयाशील भई अघि बढौं !!

हार्दिक अभिवादन,

धन्यवाद ।   

केन्द्रीय कमिटीको दोश्रो बैठक, सानेपा, ललितपुर ।

२७ कात्तिक २०७८


ताजा खबर