नोबेल पुरस्कार विजेता मलाला बैवाहिक जीवनमा

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले बैवाहिक जीवन सुरु गर्नुभएको छ । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरुले गोली प्रहार गरेपछि चर्चामा आउनु भएकी मलालाले पाकिस्तानकै एक युवाकसँग विहे गर्नुभएको हो ।

उहाँले आफ्नो बैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मंगलबार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिनुभएको छ ।

तालिबान विद्रोहीहरुको आक्रमणकै कारणले असुरक्षा महसूस गरी उहाँ अहिले बेलायतमा बस्दै आउनु भएकोले बेलायतमा बैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरुमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सवैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गर्नुभएको छ ।

“मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नुभएको छ,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

इस्लामिक परम्पराअनुसार बिवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उहाँले अहिले निकाह गर्नुभएको हो । यसको कानुनी हैसियत भने रहदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरुले मलाला चढेको स्कुल बसमा हमला गर्दा उहाँसहित तीन जना घाइते भएका थिए । त्यसपछि उहाँको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाउनुभयो । उहाँ अहिलेसम्म नोवेल पुरस्कार पाएका व्यक्तिहरुमध्ये सबैभन्दा कान्छी हुनुहुन्छ । उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ भने विश्वभरी मानवअधिकारकर्मीको पहिचान बनाउनुभएको छ ।


ताजा खबर