‘घामड शेरे’ हेरेपछि सेलिब्रेटीले भने, ‘खोट दिने ठाउँ छैन’

शुक्रबारबाट हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’ प्रदर्शनमा आएको छ । रिलिजपूर्ण फिल्मको नामलाई कांग्रेस नेता शेरबहादुरसँग जोडेर विभिन्न खाले ट्रोल बनेपछि विवादमा आएको यो फिल्ममा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । उनीहरुले फिल्ममा साली र भेनाको भूमिका निभाएका छन् । निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् ।
फिल्मको मूलकथा अभिनेता निश्चलले निर्वाहा गरेको ‘शेरे’ पात्रको वरिपरि घुमेको छ, जो विदेशमा कमाएको पैसा गाउँमा खेत किनेर तरकारी खेती गर्ने सपना पालेर स्वदेश फर्किन्छ । तर, विदेशमा दुःख गरेर कमाएको पैसाले किनेको खेत खोलाले बगाएपछि उसले खोला नै मुद्धा हाल्छ । के उसले न्याय पाउँला ? २ घण्टा १५ मिनेट लम्बाईको फिल्मले यसको जवाफ दिँदै विट मारेको छ ।
रिलिजको पूर्वसन्ध्या (बिहीबार) मा भक्तपूरको राधेराधेमा रहेको भाटभटेनीमा सञ्चालनमा आएको क्यूएफएक्स च्यानलको नयाँ शाखामा फिल्मको प्रिमियर आयोजना गरिएको थियो । जहाँ फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
फिल्म हेरेपछि अधिकांशले कथावस्तु, कलाकारको अभिनय र निर्देशक विसीको निर्देशकिय क्षमताको मुक्तकण्ठले प्रशंसा गरे।
अभिनेत्री आश्मा डीसीले आफूले अहिलेसम्म हेरेको फिल्ममध्ये सबैभन्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिइन् । उनका प्रेमी तथा अभिनेता संयम पुरीलाई पनि फिल्म एकदमै मन परेछ । उनले भने, ‘म नेपथ्यमा बसेर यो फिल्मको एक सदस्य हुन पाएको थिएँ । फिल्म बनाउँदा जुन प्रकारको उत्सुकता र डर थियो त्यो आजबाट मेटिएको छ । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकलाई मनपर्छ ।’
उनले फिल्मको कथावस्तु निकै राम्रो लागेको बताए । निर्देशक विसीको तारिफ गर्दै उनी भन्छन्, ‘हेमराज दाई कलरफूल लभस्टोरी फिल्म बनाउन माहिर हुनुहुन्छ । यो फिल्ममा सामाजिक विषयवस्तु उठाउनुभएको छ, जुन तारिफयोग्य छ ।’ पुरी, फिल्म हेरेपछि अभिनेता निश्चलको त फ्यान नै भएछन् । हाँस्यकलाकार केदार घिमिरेले बाढीपीडित किसानको मर्ममाथि एउटा राम्रो फिल्म बनेको बताए ।
उनी भन्छन्, ‘फिल्म मर्मस्पर्शी र रमाइलो छ । अभिनय सबै कलाकारले राम्रो गर्नुभएको छ । फिल्मले उठाएको विषयवस्तु तारिफयोग्य छ ।’ त्यस्तै, निर्देशक अशोक शर्माले फिल्ममा खोट लगाउने ठाउँ आफूले नपाएको बताए । ‘निर्देशक विसीको काम असाध्धै राम्रो छ । निश्चल, सुष्मा र स्वस्तिमाले उस्तै राम्रो अभिनय गरेका छन् । फिल्म नेचुरल र अर्गानिक छ । हेरुन्जेल मज्जा आउँछ’, उनले भने ।
अभिनेता गौरव पहारी पनि फिल्म राम्रो बनेको बताउँछन् । उनी भन्छन्, ‘पहिलो हाफमा मज्जाले हाँसियो । दोस्रो हाफमा भावुक भइयो ।’ निर्देशक विसीका अघिल्ला फिल्मभन्दा ‘घामड शेरे’ फरक र राम्रो बनेको उनको भनाई छ । गायक तथा ‘साइँली’ फिल्मका निर्माता हेमन्त रानाले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘जात्रै जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराई पनि फिल्मको तारिफ गरेर थाकेनन् ।
‘निर्देशक हेमराज विसी लभस्टोरीको बादशाह मानिनुहुन्छ । ‘घामड शेरे’ मा कन्टेन्टमाथि काम गर्नुभएको छ । तर, उहाँको लभस्टोरीमा जुन छाप छ त्योभन्दा मलाई यो जनरामा अझ मज्जा लाग्यो । सामाजिक विषयवस्तुमा पनि उहाँले जसरी प्रेम बुन्नुभएको छ, त्यो तारिफयोग्य छ’, निर्देशक भट्टराईले भने । उनले बच्चाको सिनमा आफू धेरै ठाउँमा भावुक भएको पनि बताए ।
त्यस्तै, अभिनेत्री लुनिभा तुलाधरले फिल्ममा मनोरञ्जन र विषयवस्तुमा सन्तुलन मिलाइएको बताइन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सफलताबाट दंग उनले भनिन्, ‘हेरुन्जेल फिल्मले कतै पनि निराश बनाउँदैन । सामाजिक विषयवस्तु उठाइएको भएता पनि लभस्टोरीलाई निकै सुहाउँदो ढंगले प्रस्तुत गरिएको छ ।’ निर्देशक विसी फिल्मकर्मीबाट मिलेको प्रतिक्रियाले निकै खुसी देखिएका थिए ।
रासस

ताजा खबर