खोकना-बुढानिलकण्ठ मेट्रो रेलको डिपिआर डेढ वर्षभित्र : धुलिखेल-नागढुंगाको ड्रइङ डिजाइन तयार हुँदै

खोकनादेखि बुढानिलकण्ठसम्म मेट्रो रेल निर्माण गरिने भएको छ।

चोभारमा निर्माणाधिन सुक्खा बन्दरगाहलाई लक्षित गर्दै खोकनादेखि बुढानिलकण्ठ रुटमा मेट्रो रेल विकास गर्न लागिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

उनका अनुसार आगामी डेढ बर्ष भित्रमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार हुनेछ। डिपिआर तयार हुनासाथ निर्माणमा तत्कालै जाने विभागको योजना छ।

महाराजगंज देखि सातदोबाटो १२ किलोमिटर खण्डको फिजिविलिटी(सम्भाव्यता) अध्ययन गरिसकेको छ। यो खण्डमा डिपिआर निर्माण प्रक्रिया सुरु गर्ने तयारीमा छ भने महाराजगंजदेखि बुढानिलकण्ठ र सातदोबाटो खोकनाको फिजिलिविटी अध्ययन गर्न लागिएको छ।फिजिलिविटी रिपोर्ट तयार भएपछि डिपिआर र बाँकी निर्माणको प्रक्रियामा जाने तयारीमा विभाग छ। खोकनाबाट सातदोबाटो रत्नपार्क महाराजगंज हुदै बुढानिलकण्ठ करिव २२ किलोमिटर मेट्रो रेल निर्माण गर्न लागिएको हो।

रेल विभागका महानिर्देशक मिश्रले सर्फेस वा अण्डरग्राउण्ड कस्तो रेलमार्ग निर्माण बारेमा विस्तृत अध्ययनपछि मात्रै भन्न सकिने बताउँछन्। मेट्रो रेल सर्फेस र अण्डरग्राउण्ड दुवैमा संचालन गर्न सकिन्छ।

धुलिखेल-नागढुंगा रुटमा ड्रइङ डिजाईनको काम

नागढुंगा – धुलिखेल रुटमा लगानी बोर्डले मेट्रोरेल निर्माणका लागि अध्ययन ड्रइङ डिजाईनको काम अघि बढाएको छ।

बोर्डको २०७४ साल कार्तिक २७ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले मेट्रो रेल निर्माणको सम्भाव्यता अध्ययनका लागि सातदोबाटो महराजगंज रेल विभागलाई र धुलिखेल नागढुंगा लगानी बोर्ड आफैले गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाउन लागिएको हो।

नागढुंगा देखि धुलिखेलसम्म करिव ४५ किलोमिटर मेट्रो विकास गर्न लागिएको छ। यो मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि टेण्डर आव्हान भइसकेको छ। अहिले आवेदन दिएका कम्पनीको मूल्यांकन भइरहेको वोर्डले जनाएको छ। छिट्टै मूल्यांकन सकेर अध्ययन थाल्ने तयारीमा वोर्ड रहेको छ। अध्ययन र डिपिआर तयार भएपछि बोर्डले निर्माण,संचालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण अघि बढाउनेछ।

रेल विभागका महानिर्देशक मिश्रले रेलमार्ग सडक जस्तो ट्रयाक खोलेर सवारीसाधन संचालन गरेजस्तो सहज नहुने बताउँछन्। ‘रेल्वे भनेको आज सडक खनेर संचालन गर्ने जस्तो होईन। सबै संरचना तयार भएपछि मात्रै संचालन गर्न सकिन्छ,’ मिश्रले भने।

‘काठमाडौंका लागि मेट्रो ठीक’

काठमाडौंका लागि मेट्रो रेल उपर्युक्त हुने निष्कर्षमा रेल विभाग पुगेको छ। काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेल बनाउने भन्दै अध्ययन थालेपछि रेल बारे वहश सुरु भएको थियो।

विभागका महानिर्देशक मिश्रले दीर्घकालीन रुपमा काठमाडौंका लागि मेट्रो उपयुक्त रहेको बताए। उनका अनुसार काठमाडौंको जनसङख्या करिव ५० लाखको हाराहारीमा छ। ‘मोनोरेलले छोटो दुरीमा थोरै यात्रु वोक्ने क्षमता राख्छ। मोनोरेल भन्दा मेट्रो रेलले ५ गुणा बढी मानिस वोक्न सक्छ,’ उनले भने, ‘तुलनात्मक रुपमा मेट्रोरेलको संचालन खर्च समेत कम छ।‘

#BizMandu


ताजा खबर