भारत टि-२० विश्वकपको समूह चरणबाट बाहिरियो

न्युजिल्यान्ड आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले प्रतियोगिताको शिर्ष चारमा स्थान पक्का गरेको हो ।

शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानले दिएको १ सय २५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाएर अविजित रहे भने विकेटकिपर डेभन कन्वे ३६ रनमा अविजित रहे । त्यस्तै, मार्टिन गुप्टिल २८ रन तथा डर्याल मिचेल १७ रनमा आउट भए ।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान एक-एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिक ७३ रनको इनिङ्सको योगदान दिए । त्यस्तै, गुलबदीन नइबल १५ रन तथा कप्तान मोहम्मद नाबीले १४ रन बनाउनुबाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन् ।

अफगानिस्तानलाई रोक्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले सर्वाधिक ३ विकेट लिए भने टिम साउथीले २ विकेट तथा एडम मिल्ने, ईश सोधी र जेम्स निशमको नाममा १-१ विकेट रह्यो ।

योसँगै सुपर १२ को समूह बीको न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो टोली बनेको छ । यस समूहको पाकिस्तान भने ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा रहँदै एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तानको भने विश्वकप यात्रा समाप्त भएको छ ।

भारत बाहिरियो
उपाधि दाबेदार मानिएको भारत भने प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । अफगानिस्तानमाथि न्युजिल्यान्डले जित निकालेसँगै भारतको विश्वकप यात्रा समाप्त भएको हो । भारत ४ खेलमा समान २ मा जित र हार सहित तेस्रो स्थानमा छ । न्युजिल्यान्ड आजको खेलमा विजयी भएर ८ अंक जोडेको छ भने भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई पराजित गर्दा मात्र ६ अंक हुनेछ । भारतले पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको हार व्यहोर्दा दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले स्तब्ध बनेको थियो ।

सुपर १२ समूह १ का सबै खेलहरु सकिँदा इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगिसकेका छन् ।

रासस/एएनआई


ताजा खबर