वैदेशिक रोजगारीका लागि पिसिआर परीक्षण अब एक हजार २०० मा मात्र

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब रु एक हजार २०० मात्रै लिन पाइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो ।

वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा बढेपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमनमा जानुभएका मन्त्री आलेले रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुबाट लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क तत्काल घटाउन निर्देशन दिनुभएको थियो ।

मन्त्री आलेको निर्देशनपछि आरटी–पिसिआर परीक्षणको शुल्क प्रयोगशालाले रु एक हजार २०० मात्रै लिन पाउने व्यवस्था कायम गरिएको छ ।

त्यसअघि उक्त परीक्षणबापत प्रयोगशालाले रु दुई हजार लिने गरेको यात्रुको आरोप थियो । मन्त्री आलेले आरटी–पिसिआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिनुभएसँगै शुल्क घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिनुभयो ।

विमानस्थल परिसरभित्र स्टार अस्पताल, टिजी मेडिसिन डिष्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोष्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पिसिआरका लागि नमूना सङ्कलन गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटिभ आरटी–पिसिआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घन्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । यसका लागि विमानस्थलको गोल्डनगेटसँगको आइएमएस बिल्डिङमा आठवटा प्रयोगशालाले नमूना सङ्कलन गर्दै आएका छन् ।


ताजा खबर