‘सत्ता गठबन्धन आगामी निर्वाचनसम्म पूरै समय रहन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहान स्वदेश फर्किनुभएको छ ।  

कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन (कोप–२६)लाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवालाई अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री वालकृष्ण खाँण, परराष्ट्र मन्त्री डा. नारायण खड्का, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रक्षा मन्त्री डा. मिनेन्द्र रिजालसहित मन्त्रीहरूले स्वागत गर्नुभयो ।

त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले विश्वका नेताहरूबाट राम्रो सद्भाव पाएको बताउनुभयो । 

पत्रकारहरूको एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम रहने बताउनुहुँदै  सत्ता गठबन्धन दलका नेताहरुबीच कुनै समस्या नरहेको प्रष्ट पार्नुभयो । 

उहाँले, एमसिसीको प्रतिनिधिसँगको भेटमा संसद्बाट प्रक्रिया पूरा गरेर एमसीसी छिट्टै पास गरिने  बताएको पनि जानकारी दिनुभयो । 

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराउनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले पनि आफूलाई भारत भ्रमणको निम्ता दिएको बताउनुभयो । 

देउवाले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले ढाका टोपी लगाएकाले टाढैबाट चिनेर बोलाएको समेत बताउनुभयो ।  

त्यसैगरी, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको पनि नेपालप्रति राम्रो सद्भाव रहेको अनुभूति आफूले गरेको प्रधानमन्त्री देउवाले पत्रकार सम्मेलनमा बताउनुभयो । 

प्रधानमन्त्री देउवा २१ सदस्यीय टोलीसहित यही कात्तिक १२ गते बेलायत प्रस्थान गर्नुभएको थियो । 

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. माधवबहादुर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।

सम्मेलन नोभेम्बर १२ सम्म सञ्चालन हुने र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव नेतृत्वको टोलीले  जारी सम्मेलनमा सहभागिता जनाइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । -रासस


ताजा खबर