के-पप बीटीएस र दक्षिण कोरियाको कूटनीतिक रणनीति

दक्षिण कोरियाली सरकारको कूटनीतिक रणनीतिसँग जोडिएको साङ्गीतिक समूह बीटीएसको लोकप्रियताको छाल धेरै देश जस्तै नेपालमा पनि लोभलाग्दो गरी फैलिएको छ। 

गत १२ सेप्टेम्बर (२७ भदौ)मा धरान–४ छाताचोकस्थित ‘पुन:स्थापना गृह’ मा दक्षिण कोरियाको सात सदस्यीय प्रख्यात साङ्गीतिक ब्यान्ड बीटीएसका गायक किम नम–जुन (आरएम)को जन्मदिन मनाइयो। प्रिय ब्यान्डका र्‍याप गायकलाई सम्झेर यसका आर्मी अर्थात् प्रशंसकहरूले मनाएको जन्मदिन थियो, त्यो। बाङ्तान्स पर्पल ओसन समूहले आयोजना गरेको जन्मोत्सव कार्यक्रममा पुनःस्थापना गृहका तीन बालबालिकाले ‘र्‍याप मन्स्टर’ लेखिएको केक काटे। बाँकी सबैले ‘ह्याप्पी बर्थ डे किम नम–जुन…’ भन्दै गीत गाए।

बीटीएस ब्यान्डको जादू चलाउन कोरियाले जे गर्‍यो

पर्पल ओसन समूहले उक्त बालगृहलाई चामल, दाल, तेल, चिनी, बिस्कुट लगायत खाद्य सामग्री प्रदान गर्‍यो। त्यसअघि १ सेप्टेम्बरमा बीटीएसकै अर्का सदस्य जन जङ्कुकको जन्मदिनमा पनि काठमाडौंको साँखुस्थित बन्दी सहायता नेपालका बालबालिकालाई कपी, स्यानिटरी प्याड आदि प्रदान गरिएको थियो। पर्पल ओसनले यसरी नै विभिन्न सामाजिक कार्यक्रम गरेर बीटीएस सदस्यहरू जे–होप र भीको जन्मदिन मनाउनुका साथै बीटीएसको वार्षिकोसवमा मेलम्चीका बाढीपीडितलाई राहत वितरण गरेको थियो। 

काठमाडौं साँखुस्थित बन्दी सहायता नेपालका बालबालिकासँग बाङ्तान्स पर्पल ओसन समूह।

पर्पल ओसनकी सुषमा थिङ भन्छिन्, “बीटीएसका आर्मीहरू कोरियन भाषा नै नबुझी गीत सुन्छन्, कपाल रङ्ग्याउँछन्, नाच्छन् भन्ने गरिन्छ। तर, हामी सामाजिक काम पनि गर्छौं भन्ने सकारात्मक सन्देश दिन चाहन्छौं।” 

बीटीएसका नेपाली प्रशंसकहरूको एउटा टोली बाङ्तान्स पर्पल ओसन यति वेला तिहारपछि आयोजना गरिने ‘बीटीएस वाल आर्ट प्रोजेक्ट’ को तयारी गर्दै छ। हेटौंडाको गुम्बाडाँडा पार्कमा गरिन लागेको उक्त कार्यक्रममा अनुराधा कोइराला र कुलमान घिसिङको भित्तेचित्र बनाइँदै छ।

नेपालमा पर्पल ओसन जस्ता ‘आर्मी’ को सङ्ख्या उल्लेखनीय छ। सुषमाहरूको समूहमै सयौं जना जोडिएका छन्। उनीहरू प्रायः स्कूल–कलेजका विद्यार्थी हुन्। अभिभावकले दिएको खाजा खर्च जोगाएर उनीहरू बीटीएसको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गर्छन्। प्रत्यक्ष र भर्चुअल रूपमा फ्यान मिटिङ, वृक्षरोपण, ब्यान्डको प्रवर्द्धनात्मक अभियानहरू नियमित जस्तै हुने गरेका छन्। स्ट्रकपप, विच हेजल जस्ता नेपाली किशोरहरूको समूहले बीटीएसका कभर डान्स गरेर नाम कमाएका छन्। 

फेसबूक, इन्स्टाग्राम, ट्वीटर, टिकटक लगायत सामाजिक सञ्जालमा बीटीएसका नेपाली प्रशंसकले खोलेका पेज बग्रेल्ती छन्। तिनमा ब्यान्डका गतिविधि, अन्तरवार्ता, मिम, जिफ, ब्यान्ड सदस्यका भनाइ, ब्यान्डका लागि आयोजना गर्ने कार्यक्रमहरूबारे पोस्ट गरिन्छ। “नेपालमा बीटीएसका आर्मी कति छन् भनेर थाहा पाउन डेढ वर्षअघि मैले फेसबूक पेज खोलेको थिएँ,” बीटीएसका प्रशंसक गौरव जंग कोइराला भन्छन्, “कहिलेकाहीं त पेजमा दिनकै ६ सयदेखि एक हजार जना नयाँ फलोअर थपिए।”

बीटीएसका प्रशंसक गौरव जंग कोइराला।

सन् २०१० मा स्थापना भएको बीटीएस समूहमा आरएम, जीन, सुगा, जे–होप, भी, जिमिन र जङ्कुक संलग्न छन्। उनीहरूका म्युजिक भिडिओ, स्टेज डान्स र कंगलिस (कोरिअन र इंग्लिस) लवजका रमाइला गीत र प्रेरणादायक सन्देशहरू संसारभर रुचाइएका छन्।

हाइब कर्पोरेशनको बिग हिट म्युजिकले ब्यान्डको व्यवस्थापन गर्दै आएको छ। बीटीएस सदस्यका हरेक हाउभाउ, फेशन र सन्देशहरू विशेष गरी यसका किशोर प्रशंसकहरूले टपक्कै टिपेर आत्मसात् गर्ने गरेका छन्।

चाबहिल, काठमाडौंका गौरवले खोलेको ‘बीटीएस आर्मी–नेपाल’ पेजमा डेढ वर्षको अन्तरालमा १९ हजार फलोअर्स जम्मा भइसके। पेज मार्फत बीटीएसका आर्मीसँग जोडिन, एकआपसमा कुरा गर्न, सङ्गीतबारे बुझ्न सजिलो भएको गौरव बताउँछन्।

“बीटीएसका फ्यानगर्ल धेरै भए पनि फ्यानब्वाई अलि थोरै छन्,” उनले भने, “केटी जस्तो भइस् भनेर जिस्क्याउने, ब्यान्डलाई तेस्रोलिंगी भन्ने गर्छन्, तर पेज खोलेपछि मैले देशभर आफू जस्ता फ्यानब्वाई धेरै भेटें।”

ब्यान्डको आर्मी भएपछि गौरवले डेढ महीना कोरियन भाषा सिकेको र ब्यान्डको नाम लेखिएको टी–सर्ट, झोला, वालेट, हेडब्यान्ड, क्याप आदि किनेको बताए। आफ्ना प्रिय जङ्कुकले जस्तै कहिले खैरो, कहिले सुनौलो, कहिले रातो रङले कपाल रङ्ग्याउने गरेका छन्। “बीटीएसको ट्याटु हान्ने रहर थियो, तर पाएको छैन,” उनी भन्छन्, “मेरो मोबाइलमा बीटीएसका तीन हजारभन्दा धेरै फोटो होलान्।” बीटीएसपछि उनलाई ट्वाइस, मोमोल्यान्ड, एक्सो, बिगब्याङ, ब्ल्याकपिंक जस्ता अरू के–पप ब्यान्डहरू पनि मन पर्छन्।

सन् २०१९ मा ‘ब्वाई विद लभ…’ को म्युजिक भिडिओ हेरेपछि लमजुङकी निर्जला थापा (१७)ले बीटीएसबारे थाहा पाएकी थिइन्। त्यस वेला कक्षा ११ मा पढ्ने उनी दिनरात ब्यान्डका अन्य म्युजिक भिडिओ, अन्तर्वार्ता, मिम, कन्सर्टका भिडिओहरू हेर्न थालिन्। “इन्स्टाग्राममा ब्यान्डलाई फलो गरें, मसला बिट्सबाट फोटो एल्बम किनें, युट्युबमा भिडिओहरू हेरेको हेर्‍यै गर्न थालें,” उनी भन्छिन्, “बिस्तारै अरू साथीसँग मिलेर आर्मी ग्रुप पनि बनाएँ।”

‘ब्वाई विद लभ…’ को म्युजिक भिडिओमा बीटीएस।

उनलाई ब्यान्डका ‘फायर…’, ‘लाइफ गोज अन…’, ‘डाइनामाइट…’, ‘फेक लभ…’, ‘म्याजिक सप…’, ‘ब्ल्याक स्वान…’ लगायत सबै गीत मन पर्छन्। भाषा नबुझे पनि अङ्ग्रेजी सबटाइटलबाट गीतको अर्थ बुझिने बताइन्।

“उनीहरू गीत मार्फत भरोसा र प्रेरणाका सन्देश दिन्छन्,” निर्जला भन्छिन्, “आफ्नो मातृभाषामै गाएर विश्व चर्चित बनेका छन्। उनीहरूले पुरुषत्वको परिभाषा फेरिदिए। छोरा मान्छे सधैं कठोर हुनु पर्दैन, तिनले पनि मजाले रुन मिल्छ, नरम हुनु भनेको कमजोर हुनु होइन भन्ने बुझाउन खोज्दै छन्। ब्यान्डको यही कुरा मन पर्छ।”

हेटौंडाकी सुषमाले पनि आफू बीटीएसबाट धेरै कुराले प्रभावित भएको बताइन्। युवाहरूको सोच परिवर्तन गर्न ब्यान्ड सहयोगी भएको उनी ठान्छिन्। “कहिले पनि हरेस खानु हुँदैन, आफूले आफूलाई माया गर्नुपर्छ भन्ने कुरा उनीहरूबाट सिक्न सकिन्छ,” सुषमा भन्छिन्, “बिग  हिट जस्तो सानो कम्पनीबाट माथि उठेर अहिले कोरियालाई नै विश्वभर चिनाउने स्तरमा बीटीएस पुगेको छ। ब्यान्डकै कारण कोरियामा कति धेरै पैसा भित्रिइरहेको छ। यति चर्चित भएर पनि ब्यान्डले घमण्ड देखाउँदैन, राष्ट्रसंघको भाषणमा आरएमले आफू एक आम युवक भएको बताएका थिए। उनीहरू गायक मात्रै नभएर सामाजिक अभियन्ता हुन्।” 

सन् २०१८ मा  संयुक्त राष्ट्रसंघको सभामा बोल्दै आरएम (किम नम–जुन)। तस्वीर:एसबीएस न्यूज

सन् २०२० मा चार लाख सहभागीमाझ गरिएको एक सर्वेक्षण (बीटीएस आर्मी सेन्सस)मा नेपाल सहित विश्वका एक सयभन्दा बढी देशमा बीटीएसका आर्मी रहेको देखिएको थियो। छिमेकी भारतमा ३.८ प्रतिशत प्रशंसक रहेको सर्वेक्षणमा उल्लेख छ। करीब साढे ३ करोड जनसङ्ख्या रहेको पेरुमा बीटीएसका २० हजार आर्मी छन्। तर, बीटीएसका आर्मीबारे थप यकिन तथ्याङ्क बाहिर आउन बाँकी नै छ। 

छोटो अवधिमै अनेकौं कीर्तिमान कायम गरिरहेको यस ब्यान्डको ख्यातिप्रति जो–कोही प्रभावित हुन्छ। दुई वर्षभन्दा कम समयमा बीटीएसका चार वटा अल्बम युएस चार्टमा परे, बेलायती रक ब्यान्ड द बिटल्सपछि पहिलो पटक यस्तो भएको प्रख्यात जर्मन मिडिया डीडब्लु डटकमले जनाएको छ। थुप्रै बिलबोर्ड म्युजिक अवार्ड र एशियन अवार्ड जितेको ब्यान्डले हालसम्म गिनिज वर्ल्ड रेकर्डस्‌मा दुई दर्जन शीर्षकमा नाम लेखाएको छ।

स्पटिफाईमा सबैभन्दा धेरै पटक सुनिएको (मस्ट स्ट्रिम्ड) ब्यान्ड हो बीटीएस। इन्स्टाग्राममा यसका पाँच करोड १२ लाख फलोअर्स छन् भने ट्वीटरमा तीन करोड ४४ लाख। ब्यान्डले युट्युबमा नयाँ गीत सार्वजनिक गर्दा केही मिनेटमै करोडौं भ्यूज पुग्छ।

पछिल्लो समय विश्व सङ्गीत, नृत्य, खाना, फेशन लगायत क्षेत्रमा बीटीएसले सनसनी मच्चाइरहेको छ। नेटफ्लिक्सको ‘स्क्विड गेम’ श्रृङ्खला र बीटीएसका कारण कोरियन मूलका २६ वटा शब्द हालै अक्सफोर्ड इङ्लिश डिक्सनरीमा समावेश गरिए। ‘किमबाप’, ‘हाल्यु’, ‘के–ड्रामा’, ‘ओप्पा’, ‘दोङ्चिमिकुक्सु’ जस्ता शब्द डिक्सनरीमा समेटिएका छन्। “हामी सबै कोरियन वेभ (लहर)को शिखरमा सवार छौं,” अक्सफोर्ड डिक्सनरीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

कोरियाका राष्ट्रपति मुन जेई–इनसँग बीटीएस राष्ट्रसंघको साधारण सभामा भाग लिन न्यू योर्क जाँदा मुनले आफ्नो विशेष दूतका रूपमा बीटीएसलाई साथै लगेका थिए।

विश्वभरका बालबालिका र किशोर पुस्ताको आत्मबल र स्वास्थ्य अवस्था सुधारसँगै उनीहरूमाथि हुने हिंसा, दुर्व्यवहार र दादागिरी (बुलिइङ) अन्त्यका लागि बीटीएसले सन् २०१७ देखि युनिसेफका विभिन्न अभियानमा सहकार्य गर्दै आएको छ। “कोभिड-१९ का कारण आफ्नो दिनचर्या, पढाइ र अन्य क्रियाकलापमा बाधा पुगेपछि एक्लो र दिक्दार महसूस गरेका बालबालिका र युवाहरूलाई बीटीएसका व्यक्तिगत अनुभवहरूले मनोबल बढाउन सहयोग गरेका छन्,” युनिसेफले लेखेको छ।

आफ्ना गीत, भिडिओ र सामाजिक कार्यहरू मार्फत ब्यान्ड निकै चर्चित भइरहेका वेला कोरियाली सरकारले बीटीएसलाई हालै कूटनीतिक पासपोर्ट (रेड पासपोर्ट) प्रदान गर्‍यो। राष्ट्रपति मुन जेई–इनले उनीहरूलाई भावी पुस्ता र संस्कृतिका लागि आफ्नो विशेष दूत नियुक्त गरेका छन्। बीटीएसले प्रतिनिधित्व गर्ने सौम्य शक्तिको कोरिया सरकारले प्रशस्त लाभ उठाइरहेको एमएसएन डटकमले उल्लेख गरेको छ।  

कोरियाका राष्ट्रपति मुन जेई–इनसँग बीटीएस। हालै सम्पन्न संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिन न्यू योर्क जाँदा मुनले आफ्नो विशेष दूतका रूपमा बीटीएसलाई साथै लगेका थिए।

द डिप्लोम्याटमा प्रकाशित लेख अनुसार, ह्युन्डाई रिसर्च इन्स्टिच्यूटले गरेको अध्ययनमा बीटीएसले कोरियन अर्थतन्त्रमा वार्षिक तीन अर्ब ६० करोड डलरभन्दा बढी रकम भित्र्याउने गरेको छ। सन् २०१७ मा विश्वभरका करीब आठ लाख पर्यटक बीटीएसप्रतिको लगावका कारण दक्षिण कोरिया भ्रमणमा आएका थिए। बीटीएसका सदस्यलाई कोरियाली राजधानी सोलको मानार्थ पर्यटक राजदूत नियुक्त गरिएको छ। शहरमा उनीहरूका मनपर्ने ठाउँ तोकेर पर्यटकलाई त्यहाँ पुग्न उत्प्रेरित गरिन्छ।  

“बीटीएसको उदय दक्षिण कोरियाली सरकारको कूटनीतिक रणनीतिसँग स्पष्ट रूपमा सम्बन्धित छ,” द डिप्लोम्याटको लेख ‘बीटीएस एन्ड द ग्लोबल स्प्रेड अफ कोरियन सफ्ट पावर’ मा भनिएको छ, “सन् २००१ मा तत्कालीन राष्ट्रपति किम दे–जङले पहिलो पटक देशको आर्थिक नीतिमा हाल्यु (विश्वमा कोरियाली संस्कृतिको लहर)को उल्लेख गरेका थिए। त्यसलाई उनले चिम्नी–लेस इन्डस्ट्री (धुवाँरहित उद्योग)को नाम दिए। आर्थिक विकासको यो यस्तो रणनीति हो, जसले औद्योगिक विकासको तुलनामा कम संसाधन प्रयोग गरी धेरै लाभ सिर्जना गर्न सक्छ।” 

सोही नीति अनुसार, कोरियामा सन् २००९ मा कोरिया क्रिएटिभ कन्टेन्ट एजेन्सी स्थापना गरी कोरियाली कला, संस्कृति, सङ्गीत, फिल्म, फेशन, टेलिभिजन संस्कृतिको प्रचारप्रसार गर्न थालियो। त्यहाँका ठूला–ठूला व्यापारिक संस्थाहरूले मिडिया र रचनात्मक क्षेत्रमा लगानी गर्न थाले। त्यसअघि सन् १९९० को दशकदेखि नै के–ड्रामा र कोरियाली फिल्महरू चर्चित बनिरहेका थिए। यो सबै संयोगले भएको थिएन। आफ्नो सांस्कृतिक शक्ति विस्तारमा कोरिया सरकार पहिलेदेखि नै नियोजित रूपमा लागिपरेको छ।

के–ड्रामाका केही चर्चित कलाकार।

सन् २०१२ मा गायक साईको ‘गङ्नम स्टाइल…’ ले विश्व सङ्गीत र नृत्यमा तरङ्ग ल्यायो। त्यसयता बीटीएस, एक्सो, ब्ल्याकपिंक जस्ता के–पप समूहले विश्वभर आफ्ना प्रशंसक बनाएर ‘पिपल–टु–पिपल’ (जनतासँग) सम्बन्ध विकास गरेका छन्। ब्यान्डको ख्याति बढाउन यिनका व्यवस्थापक कम्पनीहरू मरिमेटेर लाग्छन्। ब्यान्ड सदस्यलाई पारदर्शी र असल देखाउन उनीहरूका हरेक गतिविधि सामाजिक सञ्जालमा पोस्ट गरिन्छ। फ्यानसँग अन्तरक्रिया गराइन्छ। केही समयअघि भर्चुअल ‘लाइभ फ्यान मिटिङ’ मा एक्सो समूहले नेपालका प्रशंसकसँग कुराकानी गरेको थियो। केबीएस वर्ल्ड टीभीबाट त्यो प्रसारण पनि गरियो। 

काठमाडौंस्थित कोरियाली दूतावास मार्फत के–पप वर्ल्ड फेस्टिभलका लागि नेपाली किशोरकिशोरी दक्षिण कोरिया जाने गरेका छन्। ‘कोरियन वेभ’ विस्तार गर्ने लक्ष्य सहित काठमाडौंमा ‘कोरिया कल्चर डे’ आयोजना हुन्छ। “देशको सौम्य शक्ति प्रवर्द्धनका लागि यस्ता गतिविधि गर्ने कोरिया एक्लो मुलुक होइन,” बीबीसीको लेखमा भनिएको छ, “आफ्ना कूटनीतिक लक्ष्यलाई सुदृढ पार्न धेरै देशले सांस्कृतिक परिषद् खडा गर्ने र सांस्कृतिक आदानप्रदानका कार्यक्रममा लगानी गर्छन्। तर, दक्षिण कोरिया सरकारले सांस्कृतिक शक्ति विस्तारमा गरेको पहल अद्‌भुत छ, यसले उल्लेखनीय सफलता हासिल गरेको छ।” 

के-पप कलाकारहरू।

गत २२ असोजमा हिमालले आयोजना गरेको ‘तपाईंसँग हिमाल संवाद’ कार्यक्रममा गायिका आनी छोइङ डोल्माले बीटीएसको प्रगति र ख्यातिमा कोरिया सरकारको भूमिकाबारे बोलेकी थिइन्। नेपाल सरकारले भने आफ्ना कलाकार र उनीहरूको ख्याति चिन्न र प्रवर्द्धन गर्न नसकेको उनको भनाइ थियो।   

“कोरियाको विदेश नीति नै छ, बीटीएस जस्ता ब्यान्डहरूलाई हेर्ने,” उनले भनेकी थिइन्, “ब्यान्डका लागि अन्तर्राष्ट्रिय कार्यक्रमहरू त्यहाँको सरकारले नै आयोजना गर्छ। तर, हामीकहाँ त्यस्तो छैन, त्यही भएर चित्त दुख्छ। मैले गरिरहेको कामबाट पनि हाम्रो सरकारले फाइदा उठाउन सक्छ। मैले कार्यक्रम गर्ने स्थानको प्रचारप्रसार गर्ने, मेरो कन्सर्टमा आउने लाखौं पर्यटकलाई नेपाल चिनाउने प्रचार सामग्री बाँडेर पर्यटक आकर्षित गर्न सकिन्छ। तर, मैले नै यसबारे झकझकाउँदा पनि ‘आनीले पैसा खोज्या हो’ भने जस्तो व्यवहार गर्नुहुन्छ।”

नेपालमा बीटीएसको लोकप्रियता देखेर आफू छक्क परेको पनि उनले बताएकी थिइन्। “मैले पालेका बच्चा, आनीहरू समेत बीटीएसका डाइहार्ड फ्यान रहेछन्,” उनी भन्छिन्, “सन् २०१९ मा म कोरिया जाँदा एक जना बच्चा लगेकी थिएँ। उसले त कोरियन भाषा पनि जान्दो रहेछ। उपहार के किन्छौ भनेर सोध्दा, बीटएसको पोस्टकार्ड, बीटीएसको यो, त्यो भन्छ। यत्रो क्रेज देखेर म त छक्क परें।”

बीटीएसको ‘फायर…’ गीतमा कभर डान्स गर्दै नेपाली किशोरहरूको समूह स्ट्रकपप।

भिडियो हेर्नुस् :

हिमाल खबरबाट साभार


ताजा खबर