हिमालका विषयलाई उच्च प्राथमिकतामा राख्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउँदै यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिंगो विश्व समूदाय चिन्तित हुनुपर्ने बताउनु भएको छ ।

संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा सोमबार आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलन(कोप २६) को वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको छ ।

विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले विकसित मुलुक पनि संझौता कार्यान्वयनका लागि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो । हिमाली क्षेत्रमा पर्ने असरले समुन्द्र नजिकका सबै राष्टलाई प्रभावित पार्ने कुरालाई यस सम्मेलनले गम्भीरताका साथ लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानन्त्री देउवाले सम्बोधनका क्रममा भन्नुभयो, हिमाल संसारकै पानीको मुख्य स्रोत भएकाले यसमा पर्ने असरले विश्व समुदायलाई नै प्रभावित पार्ने कुरालाई ध्यान दिनुपर्छ । हिमाललाई केवल हिमालको रुपमा मात्र नभई समग्र मानव समाजको उन्नति र प्रगतिको स्रोतको रुपमा लिनुपर्छ ।
सो क्रममा उहाँले पेरिस संझौताले निर्दिष्ट गरेको मार्गचित्रअनुसार नेपालले आफ्ना प्रतिबद्धताहरु पुरा गरेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको समेत बताउनुभयो । नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान(एनडीसी) पेश गरेको पनि उहाँले जानकारी दिनुभयो ।

जलवायु अनुकुलन र जोखिम न्यूनीकरण गर्दै कार्वन उत्र्सजनलाई घटाउन नेपालले गरेका प्रयासहरु विश्वका अन्य मुलुकले पनि अनुशरण गर्न सक्ने धारणा राख्दै नेपालले जलवायुसम्बन्धी नीति,रणनीति तथा अनुगमनका कार्ययोजना निर्माण गरेर अगाडि बढीरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कुल उर्जा मागको १५ प्रतिशत स्वच्छ उर्जाबाट पूर्ति गर्न सुनिश्चित गरिने तथा नेपालको वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने सो क्रममा बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालले जनसहभागितामा आधारित संरक्षणको योजनालाई अघि बढाउदा सफलता हासिल गरेको धारणा राख्नुभयो । हालै नेपालले हानी नोक्शानीसम्बन्धी दीर्घकालिन रणनीति र राष्ट्रिय अनुकुलन योजना स्वीकृत गरेको जानकारी दिदै कम्तिमा ८० प्रतिशत जलवायु वित्त स्थानीय जलवायूसम्बन्धी कार्यलाई सहयोग प्रदान गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

स्थानीय अनुकुलन कार्ययोजनाबाट जोखीममा परेका समुदायमा पहुच विस्तार गरिरहेको पनि उहाँले बताउनुभयो । कार्वन उत्र्सजन घटाउन स्वच्छ उर्जा उत्पादन गरी छिमेकी मुलुकलाई समेत आपूर्ति गर्ने लक्ष्यका साथ काम भैरहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयो ।

नेपालले नवीकरणीय उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै शून्य उत्र्सजनको दिशातर्फ अगाडि बढन स्वच्छ उर्जा विकासको अभियानलाई प्रााथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । नेपालले निर्माण गरेको अनुकुलन योजना कार्यान्वयन गर्न झण्डै पचास अर्ब रुपियाँ आवश्यक पर्ने भएकाले जलवायू परिवर्तनसँग सम्बन्धित सरोकारवाला निकाय,सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाले प्राकृतिक विपत्तिबाट पछिल्ला दिनमा ठूलो जनधनको क्षति बेहोर्नु परेको चर्चा गर्दै नेपालको भौगोलिक अवस्थाले गर्दा ८० प्रतिशतभन्दा बढी जनसंख्या प्राकृतिक प्रकोपको चपेटा परेको बताउनुभयो । सम्मेलनमा ११७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको छ । उहाँहरुले मंगलबारसम्म सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव लगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ। ।

यसैगरी आइतबार बिहान बेलायतका परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको रात्रीभोजमा पनि सहभागी हुनुभयो ।


ताजा खबर