उद्यमशीलता विकासमा पियु र नबिल बैंकले सहकार्य गर्ने

पोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम/व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने उद्देश्यले पोखरा विश्वविद्यालय र नवील बैङ्क लिमिटेडबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्याल तथा रजिस्ट्रार डा दीपकबहादुर भण्डारीको उपस्थितिमा मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीन, सह प्राडा अजय थापा र नवील बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्नुभएको छ । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयले देशलाई आवश्यक पर्ने उद्यमी जन्माउने कार्यलाई अभियानका रूपमा लैजाने बताउनुभयो । 

विश्वविद्यालयका रजिस्ट्रार सह प्राडा दीपकबहादुर भण्डारीले विद्यार्थीले जागिर खोज्ने नभई रोजगारी सिर्जनाका लागि पढ्नुपर्नेमा जोड दिनुभयो ।

नवील बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालका ठूलाठूला उद्यमी नवील बैङ्कको ग्राहक भएको उल्लेख गर्दै बैङ्कको दिगो विकासका लागि उद्यमीलाई रोजगार दिने सहयात्री खोज्दै गर्दा पोखरा विश्वविद्यालय जस्तो उत्कृष्ट संस्था भेटिएकाले उल्लेख गर्नुभयो ।  –रासस


ताजा खबर