डा. चक्रराज पाण्डे ग्रान्डी अस्पताल ‘म्यानेजमेन्ट’ बाट बाहिरिए

डा. चक्रराज पाण्डे  धापासीस्थित ग्रान्डी अस्पतालको व्यवस्थापकीय जिम्मेवारीबाट बाहिरिएका छन्। उनी ग्रान्डी अस्पतालका संस्थापक मेडिकल निर्देशक हुन्। उनी अस्पतालको सञ्चालक समितिमा पनि थिए।

स्रोतका अनुसार डा. पाण्डेले कात्तिक ७ मा सम्पन्न साधारणसभाबाट सञ्चालक समिति सदस्य र मेडिकल निर्देशकका रुपमा औपचारिक रुपमा बिदा लिएका हुन्। डा. पाण्डेले ग्राण्डीको जिम्मेवारीबाट अलग भए सङ्गै लाजिम्पाटमा आफ्नो छुट्टै ‘अनामिवा क्लिनिक’ सुरु गरेका छन् ।

पछिल्लो समय उनको सञ्चालक समिति अध्यक्ष दीपक कुँवरसँग सम्बन्ध बिग्रिएको थियो। कुँवरकै सक्रियतामा केही वर्षअघि अस्पतालको व्यवस्थापन सम्हालेको भारतीय समूह ‘लसान्ते’ गत बैशाखबाट पुनः ग्राण्डीको व्यवस्थापन सम्हाल्न आइपुगेको थियो ।

गत बैशाखबाट ग्राण्डीको प्रमुख कार्यकारी अधिकृतमा भारतीय चिकित्सक डा. अशोक वर्द्धधनलाई ल्याइएको थियो भने सिओओमा भारतीय नागरिक अमृत खन्नालाई जिम्मेवारी दिइएको थियो । यस्तै, अस्पतालको प्रभावशाली कार्यकारी भूमिकामा भारतीय चिकित्सक डा. नोनिका गोयल आएकी थिइन् । यस्तै, डा. पाण्डेको मेडिकल निर्देशकको भूमिकालाई सेरमोनियल बनाएर डेपुटी निर्देशक डा. विनोद विजेक्छेलाई सक्रिय बनाइएको थियो ।

३२ रोपनीमा जग्गामा फैलिएको ग्राण्डी अस्पतालमा झण्डै १ हजार कर्मचारी कार्यरत छन् । अस्पतालको भवन मात्र १५ तलाको रहेको छ। अस्पतालमा रुपज्योति र उपेन्द्र महतोको २५/२५ प्रतिशत शेयर रहेको छ। डा. पाण्डेसहित ग्राण्डीमा १ सय २६ जना लगानीकर्ता  छन्।


ताजा खबर