सर्वोच्च र बारबीच न्यायालय सुधारका विषयमा छलफल

नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर न्यायालय सुधारका विषयमा छलफल गरेको छ । 

बारले आज गरेको भेटमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन र पछिल्लो समय प्रधानन्यायाधीशसँग जोडिएर अदालतप्रति भइरहेको आलोचनालगायतका विषयमा छलफल गरेको हो । 

छलफलमा प्रधानन्यायाधीश जबराले यस विषयमा सोमबार बारको प्रतिनिधिसमेतको सर्वोच्च पूर्ण बैठक फुलकोर्टमा छलफल गर्ने बताएको नेपाल बारले जनाएको छ । 

यसअघि बारले कात्तिक ५ गते विज्ञप्ति जारी गरेर गोला प्रथाद्वारा पेसी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई १५ दिनको समय सीमा समेत दिएको थियो । 

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा चासो नदेखाएको र स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको जस्ता विषयमा आलोचना हुँदै आएको छ । 

सोही विषयमा छलफल गर्न सोमबारको पूर्ण बैठक बोलाइएको छ ।  

प्रधानन्यायाधीश जबरा निरन्तर विवादमा तानिँदै गएपछि पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबरालाई निकास दिन आग्रह समेत गरेको छ ।


ताजा खबर