युवा मन्त्री गहतराजद्वारा स्काउट दीक्षा ग्रहण

युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । 

नेपाल स्काउटको प्रमुख स्काउट समेत रहनुभएका मन्त्री गहतराजले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहमा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको हो । 

दीक्षान्त पश्चात् वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणले प्रमुख स्काउटलाई नेपाल स्काउट स्कार्फ प्रदान गर्नुका साथै निर्देशक रामप्रसाद भट्टराईले माल्यार्पण गर्नुभएको थियो ।

त्यस अवसरमा  मन्त्री गहतराजले नेपाल स्काउट युवालाई नैतिक शिक्षा, अनुशासन र राष्ट्र प्रेम सिकाउने संस्थाको रुपमा सबल बनाउने बताउनुभयो । उहाँले नेपाल स्काउटमा राजनीतिक हस्तक्षेप नहोस् भन्नेमा आफू पनि दृढ रहेको बताउँदै राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान बोकेको संस्थालाई अगाडि बढाउन सबैको सल्लाह लिएर अगाडि बढ्ने बताउनुभयो । 

समारोहमा वरिष्ठ स्काउटर प्रा गोविन्दनारायणलाई सम्मान समेत गरिएको थियो । मन्त्री गहतराजले स्काउट कार्यालय परिसरमा स्काउटका प्रवर्तक लर्ड बेडेन पावेल र ओलेभ बेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नुभई भौतिक सम्पत्तिको बारेमा जानकारी लिँदै अवलोकन गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल स्काउटका पूर्वराष्ट्रिय पदाधिकारी, प्रदेश संयोजक, उपत्यकाभित्र रहेका वरिष्ठ स्काउटर र स्थानीय तहका संयोजक लगायत स्काउटर तथा रोभर, रेन्जरको उपस्थिति रहेको थियो । –रासस


ताजा खबर