सिन्धुलीगढी विजय उत्सवको तयारी तिब्र

वाई. पी विनय, सिन्धुली

ऐतिहासिक किल्ला सिन्धुलीगढीमा नेपाल कब्जा गर्न आएको कप्तान किनलोक नेतृत्वको इष्ट इण्डीया कम्पनीका अङ्ग्रेज सेनालाई परास्त गरेको सम्झनामा २०६७ साल कार्तिक २४ गते देखि मनाउन थालिएको ऐतिहासिक सिन्धुलीगढी विजय उत्सव अन्र्तगत २५२ औं विजय उत्सव मनाउन तयारी तिब्र पारिएको छ ।

सुरुवाती बर्षहरुमा जिल्ला विकास समिति सिन्धुलीको सहयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको अगुवाईमा मनाउदै आएको विजय उत्सव विगत दुई वर्ष देखि कमलामाई नगरपालिकाले पत्रकार महासंघको समन्वयमा मनाउदै आएको छ । उत्सवलाई भव्य बनाउन नगरपालिकाले नेतृत्व लिएकै वर्ष २५० औं विजय उत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारलाई प्रमुख अतिथि बनाईएको थियो । यस वर्षको २०५२ औं विजय उत्सवमा उप–प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल प्रमुख अतिथिको रुपमा सिन्धुलीगढी आउने तय भएको गढी विजय उत्सवको तयारी बारे जानकारी र छलफल गर्न कमलामाई नगरपालिकाले अयोजना गरेको पत्रकार भेटघाट तथा विजय उत्सवको रणनितिक तयारी बैठकमा जानकारी गराईएको थियो । कार्तिक २४ गतेको विजय उत्सव कार्यक्रममा नेपाली सेनाको बजेट अन्र्तगत ४ करोडमा निर्माण गर्ने युद्ध संग्राहलय र प्रदेश सरकारको बहुबर्षिय आयोजना बाट करिव ७ करोड बजेटमा पुननिर्माण हुने सिन्धुलीगढीको ऐतिहासिक रानीदरबारको पुननिर्माणको शिलान्यास पनि कार्तिक २४ गते रक्षा मन्त्रीबाट शिलान्यास गराउने तयारी गरिएको छ । दुवै आयोजनाको कर्तिक २३ गते सम्म टेण्डर आह्वान गरेर शिलान्यास गर्ने तयारी गरिएको बताईएको छ । सिन्धुलीगढीमा त्यसबेला नेपाल पक्षबाट युद्ध लडेका गोरखा राज्यका राजा श्री ५ पृथ्वीनारायण शाहको शालिक समेत निर्माण कार्य अन्तिम चरणमा पुगेकाले त्यसको समेत कार्तिक २४ मै अनावरण गर्ने तयारीमा कमलामाई नगरपालिका लागिपरेको छ ।

कमलामाई नगरपालिकाले नेतृत्व लिएर नगरको पर्यटन विकासमा प्रमुख प्रथामिकताका साथ बजेट विनियोजन गर्दै घेरावेरा, फूलबारी बगैचा निर्माण लगायतका काम गरेर प्रवेश शुल्क सहित सिन्धुलीगढी अबलोकनको व्यवस्था गरेपछि सिन्धुलीगढीमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको रेकर्ड राख्न थालिएको छ । जसले दिन प्रतिदिन गढी घुम्न आउनेको चाप बढ्दै गएको देखिएको छ । ऐतिहासिक गढी दरबार, रानीदरबार तथा नेपाली सनोले युद्ध संग्राहलय निर्माण गरेर तत्कालिन समयमा अङ्ग्रेज सेनासँग लडेका हातहतियार, त्यो बेलाका युद्ध लड्ने नेपाली फौजका कमाण्डर तथा सिपाईहरुको शालिक तथा ड्रेड, तोप लगायतका सामग्रीहरु युद्ध संग्राहलयमा राख्ने योजना बनाईएको छ । क्रमिक रुपमा सिन्धुलीगढीको विकास हुन थालेकाले जिल्लाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा सिन्धुलीगढीलाई हेर्न थालिएको छ ।

प्रत्येक वर्ष कार्तिक २४ गते मनाईने एतिहासिक विजय उत्सवले सिन्धुलीगढीको महत्व, सिन्धुलीगढीमा नेपाली फौजले हासिल गरेको विजयका कारण समग्र नेपालकै अस्थित्व रक्षा भएको गैरवपूर्ण इतिहासलाई आम मानिस विच उजागर गर्ने गरेको छ । सिन्धुलीगढीको महत्वपूर्ण युद्धमा विजय हासिल गरेकै कारण नेपालीहरुले नेपाल कसैको उपनिवेशमा बस्नु नपरेको, विश्व इतिहासमा स्वतन्त्र राज्यको रुपमा रहन पाएको गौरवपूर्ण इतिहास हामी माझ रहेकाले राज्य पक्षबाट समेत सिन्धुलीगढीको एतिहासिकता लाई ध्यानमा राखेर यहाँको सुधार र संरक्षणमा पछिल्ला दिनमा ठूलो चासो देखाईएको पाईन्छ भने सिन्धुलीगढीमा हुने विजयउत्सव कार्यक्रम सहभागि हुने विशिष्ट पदाधिकारीहरुले यहाँको विशिष्ठता बुझेपछि सिन्धुलीगढीको पुननिर्माणमा विस्तारै बजेट जुट्न र सहयोग पुग्न थालेको पाईन्छ ।

 


ताजा खबर