स्तन क्यान्सरः भ्रम र वास्तविकता

डा. अनामिका झा / डा. सुमन लामिछाने

क्यान्सरका बिरामीहरुको सङ्ख्या दिनानुदिन बढिरहेको आजजभोलीको अवस्थामा स्तन क्यान्सरको बारेमा पनि खुबै सुनिन्छ। क्यान्सर भन्ने बित्तिकै निको नै नहुने असाध्य रोग हो भन्ने मान्यता जनमानसमा रहिआएकोले यसको नामले नै जो कोहि झसङ्ग हुने गर्दछन्। त्यसमाथि विश्वको आँकडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तनको क्यान्सर सबैभन्दा धेरै देखिने क्यान्सर हो। अध्यनहरुले देखाए अनुसार प्रत्येक आठ महिलामा एकजनामा जीवनकालमा स्तन क्यान्सर देखापर्ने जोखिमहुनेगर्दछ। नेपाल तथा विकाशशील मुलुकहरुमा भने पाठेघरको मुखको क्यान्सरपछि महिलाहरुमा सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो। 

के यसको मतलब केही पनि बच्ने उपाय छैनन् भनेर हामी डराइ डराइ बस्ने मात्र हो त? स्तन क्यान्सर सचेतना महिना अक्टोबर महिनाको मौका पारेर स्तन क्यान्सरका बारेमा बुझ्नै ॐपर्ने केही तथ्य प्रकाश पार्न चाहन्छौँ।

स्तन क्यन्सरको जोखिम बढाउने बिभिन्न कारक तत्वमध्ये परिवारमा कसैलाई क्यान्सर भएको इतिहास, केही अनुवांशिक परिवर्तनहरू (Genetic Mutations),मोटोपना , हर्मन थेरापीहरू पर्दछन्। रोकथाम तथा रोगको पहिलो चरणमा पत्ता लगाई शिघ्र उपचार सुरु गर्नु नै यस रोगले पार्ने असर तथा मृत्यु बाट जोगिने उपायहरु हुन्। नियमित व्यायाम, स्वस्थ खानपान तथा मोटोपना र तौल नियन्त्रणहरू यसको केही रोकथामका उपायहरू हुन्, जसले स्वास्थ्य सम्बन्धि अन्य थुप्रै समस्याहरुबाट पनि बचाउन मद्दत गर्दछन्।

यो रोगको पहिलो चरणमा पत्तालगाउन सक्यो भने यसलाई पुर्णतया निको पार्न  सकिन्छ  भन्ने कुरा जनमानसमा धेरैलाई जानकारी नहुन सक्छ। र यहि तथ्यले नै रोग पत्ता लगाउनको लागिगरिने स्क्रिनिङ विधिहरु (screening) को आवश्यकता औँल्याउदछ। स्क्रिनिङ भनेको कुनै पनि रोगको लक्षण नदेखिँदैमा विभिन्न पद्दतिहरु द्वारा गरिने परिक्षणहरु हुन्। यसले लक्षण नदेखिँदैको प्रथम चरणको अवस्था मा नै रोगको पत्ता लगाई शिघ्र उपचारमा सहयोग पुर्याउँछ।

स्तन क्यान्सरका स्क्रिनिङका उपायहरूमा स्वयम् गरीने स्तन परीक्षण (Breast Self Examination),चिकित्सकद्वारा गरिने स्तन परीक्षण ( Clinical Breast examination ) तथा मेमोग्राफी पर्दछन्। स्वयम् गरिने स्तनको परीक्षणका विधिहरू इन्टरनेटमा खोज्ने हो भने सजिलै भेट्टाउनसकिन्छ।यस्तोजाँचमहिनामाकम्तिमा एकपटक गर्नपनि विज्ञहरुले सुझाव दिने गर्दछन्। यस्तो जाँच प्रायः महिला आफैँले नुहाउँदावा कपडा फेर्दा गर्न सक्दछन्।  आफैले जाँच गर्ने सकिने  र कुनै साधन वा अन्य व्यक्तिको सहयोग नलिइ गर्न सकिने हुनाले यसलाई यौटा सरल उपाय मान्न सकिन्छ। यसका अलावा चिकित्सक द्वारा गरिने  स्तन परीक्षणका लागी तीन देखि छ महिनामा सम्बन्धित स्वास्थकर्मी वा चिकित्सक सँग परामर्श तथा जाँच आवश्यक पर्दछ ।

हामी सबैले देखेसुनेको जाँच एक्स-रे कै एक नविन पद्दती हो मेमोग्राम। यसमा विकिरणको प्रयोग गरिने भए पनि शरीरलाईखासै हानि नगर्ने सानो मात्राको एक्स-रे विकिरणको प्रयोग हुने गर्दछ। स्तन क्यान्सरको स्क्रिनिङका लागि यो एक अध्यनहरु द्वारा प्रमाणित बिधि हो जसले विभिन्न ठुला जनसङ्ख्यामा गरिएका अध्यनहरूमा रोगको प्रभाव तथा मृत्युदर कम गराएको देखाएको छ। पश्चिमी मुलुकहरुमा प्रोटोकल अनुसार नै ४०/५० वर्ष उमेर पछी हरेक एक वा दुई वर्षमा महिलाहरूको मेमोग्राम गर्ने गरिन्छ। हाम्रो क्षेत्रमा पनि कम उमेरमा नै धेरै स्तन क्यान्सरका विरामी देखिदै आएको हुँदा ४० वर्ष बाट नै वार्षिक स्क्रिनिङ मेमोग्राम गर्नु उचित मान्न सकिन्छ।

मेमोग्राफी जाँचमा देखिएको स्तनको चित्र

हाम्रो परिपेक्ष्यमा हेर्नुपर्दा मातृ-शिशु स्वास्थ तथा सङक्रमणजन्य रोगहरुले नै नितिनिर्माण तहमा प्राथमिकता पाएकाछन्। त्यसैले अन्य क्यान्सरजस्तै स्तन क्यान्सरको बारे जनमानसमा गरिने सचेतना कार्यक्रमहरुले पनि खासै त्यो तहमा प्राथमिकता पाएका छैनन्। जनस्वास्थ्यको तहमा स्क्रिनिङका उपायहरू नअपनाईएको यस्तो अवस्थामा ब्यक्तिगत रुपमा गरिने परिक्षणहरुका लागी सचेतना बढाउनुपर्ने आवश्यकता देखिन्छ।

स्तनसँग सम्बन्धित हरेक लक्षणहरु जस्तै- छाम्दा थाहा हुने गाँठा, मुन्टा बाट पानी बग्नु (बिशेष गरी रगत मिसिएको जस्तो),छाला वा मुन्टामा आएका नयाँ परिवर्तनहरुलाई बेवास्ता गरेर पछि जचाँउछु भन्दै बस्नु निष्चय पनि राम्रो होइन ।यस्ता लक्षणहरु देखा परेमा तुरून्त स्वास्थकर्मीसँग उचितपरामर्शलिनु पर्दछ। र, यस्तो अवस्थामा तुरुन्त मेमोग्राम वा अल्ट्रासाउण्ड जाँच गरिहाल्नुपर्छ।

सामान्यतया ४० वर्ष उमेर कटेपछी स्तनको घनत्वमाकमीआउँदैजाने हुदा मेमोग्राम यो उमेर पछि गर्नु उपलब्धिपुर्ण हुन्छ । कम उमेरकामहिलाहरुमा स्तनको घनत्व ज्यादा हुने हुदा मेमोग्रामको संवेदनशिलता कम हुने गर्दछ र यस्तोमासमस्या भएको अवस्थाममा पनि मेमोग्राममा नदेखिने हुनसक्दछ।

स्तनको अल्ट्रासाउण्ड (भिडियो एक्स-रेभनिने) कम उमेरका महिलाहरूका लागी बढी उपयोगी हुन सक्छ।  साथै यसको प्रयोग मेमोग्राममा देखिएका केही समस्याहरू प्रस्ट्याउन पनी यो जाँच उपयोगी हुन्छ।

माथि उल्लेख गरिएभन्दा बाहेक पनि स्क्रिनिङ वा स्तनको जाँचका उपाएहरु छन् जसमा स्तनको एम आर आइ जाँच पर्दछ। यो जाँच भने सामान्यतया केही खर्चिलो हुने गर्दछ तथा यसको सहजउपलब्धतापनि अन्य जाँचहरुको तुलनामा कम छ। यो जाँचको प्रयोग भने जटिल लागेका कुनै अवस्थामा समस्या सुल्झाउन हुने गर्दछ। कहिलेकाँहि एम आर आइको प्रयोग परिवारमा स्तन क्यान्सर देखिएका महिलाहरुमा कमउमेरमागरिनेस्क्रिनिङका लागि गरिन्छ।

कुनै एक उखानमा भनिएको जस्तो अज्ञानता सधै वरदान सावित नहुन सक्दछ। स्वयम् सचेत हुनु वास्तवमै आवश्यक छ र यो नै स्तन क्यान्सरले पार्ने प्रभाव कम गर्ने बाटोमा चालिने पहिलो पाईला हुन सक्छ।

सबै कुराहरु नकारात्मक मात्र छैनन्। आज पनि विश्वमा धेरै महिलाहरु स्तन क्यान्सर लागेर पनि समयमै उपचार सुरु गरेकाले रोगमुक्त भइ सामान्य जीवन यापन गरिरहेका छन्। र, यो सबै केवल स्क्रिनिङका उपाएहरु समयमानै अवलम्बन गरेको उपज हो।

आफुमा देखिएका लक्षणहरूको समस्याको शिघ्र सम्बोधन, स्क्रिनिङ विधिका प्रयोग तथा नियमित मेमोग्रामहरुले तपाँई हाम्रो मनमा शान्ति त प्रदान गर्छ नै तथा डरलाग्दो यो रोगबाट पनि बेलैमा बचाउन सक्दछ। त्यसैले, विशेष गरी महिलाहरुमा हामी यो आग्रह गर्दछौँ कि आफुले आफैलाइ यस कार्यमा सचेत बनाइ स्वास्थ जिवन स्तर बनाउन लागी पर्नुहोस्।

डा. झा त्रि. वि शिक्षण अस्पताल, महाराजगंज मा रेडियोलोजी विभागमा सहायक प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ भने डा. लामिछाने नेपाल एपिएफ अस्पतालमा कार्यरत रेडियोलोजिस्ट हुनुहुन्छ।


ताजा खबर