साफ च्याम्पियनशिप फाइनल आज : नेपाल र भारत भिड्ने

तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो ।

भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।

नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अन्जन विष्ट भने आजको खेल खेल्न नपाउने भएका छन् ।

भारत र बंगलादेशविरुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि अन्जनले आजको खेल गुमाउन लागेका हुन् ।

जारी प्रतियोगितामा दुई गोल गरिसकेका अन्जनको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ ।

भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहनेछन् ।

खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरण चेम्जोङले आजको जीतका लागि पुरानो घाउ बिर्संदै आक्रमक रुपमा खेल्दै इतिहास रच्ने बताएका छन् ।-रासस


ताजा खबर