चिनियाँ सेनालाई भारतीय सेनाप्रमुखको चेतावनी

भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी'(लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन् ।

चिनियाँ सेनाले लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा ठूलो मात्रामा भौतिक संरचना निर्माणको काम जारी राखेकोमा भारतीय सेनाले यसको विरोध गरेको हो । चिनियाँ सेना त्यस क्षेत्रबाट नहटेमा आफूहरु पनि त्यहीँ बस्ने नरावणेको चेतावनी थियो । “यदी उनीहरु त्यहीँ बस्ने भए भने हामी पनि त्यहीँ बस्नेछौँ” नरावणेले भनेका छन् ।

एलएसीमा चिनियाँ सेनाको उपस्थितिले पाकिस्तानी सीमा क्षेत्रको जस्तै अवस्था सिर्जना हुने नरावणेले बताएका थिए । साथै आफूहरुले चिनियाँ सेनाको त्यस क्षेत्रको गतिविधिमाथि चनाखो भएर निगरानी गर्ने समेत उनले बताए ।

गत वर्षको जुनमा चिनियाँ सेना र भारतीय सेनाबीच गलवान उपत्याकामा भीडन्त भएपछि सीमा क्षेत्र बन्द गरिएको छ । भीडन्तको क्रममा २० जना भारतीय सैनिक मारिएका थिए ।

गत साता अरुणाञ्चल प्रदेशको तवाङ जिल्लास्थित एलएसीमा भारतीय र चिनियाँ सैनिकहरु आमने-सामने भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार २ सय चिनियाँ सेनाहरु तिब्बतको बाटो हुँदै भारततर्फ प्रवेश गरेका थिए । र उनीहरुमध्ये केही भारतको नियन्त्रणमा छन् । –एएनआई


ताजा खबर