इपिएल टी–ट्वान्टीको उपाधि चितवन टाइगर्सले जित्यो

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि चितवन टाइगर्सले जितेको छ । 

कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले पराजित गर्दै चितवनले पहिलो पटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले रु ५० लाख र उपविजेता बनेको पोखराले रु १५ लाख प्राप्त गरेका छन् ।

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा भीम सार्कीले ६३ रनको अर्ध शतकीय इनिङ्स खेले । उनले ४५ बलमा सात चौका र दुई  छक्का प्रहार गरे । 

यस्तै दिलीप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए । त्यस्तै मोहम्मद साहजदले ११ रन जोडे भने कप्तान सोमपाल कामी चार रनमा अविजित रहे ।

व्यक्तिगत विधातर्फको उपाधिमा पनि चितवनकै वर्चस्व रह्यो । चितवनका स्पिनर सागर ढकाल प्लेयर अफ द सिरिज (सर्वोत्कृष्ट) खेलाडी चुनिए । उपाधिसहित उनले बजाज पल्सर एनएस २०० सिसी मोटरसाइकल प्राप्त गरेका छन् । 

त्यस्तै चितवनकै भीम सार्की उदीयमान खेलाडी (इमर्जिङ प्लेयर) चुनिएका छन् । चितवनकै कमलसिंह ऐरीले डेर टु ड्रिम अर्वाड पाएका छन् । भीम र कमलले जनही रु  ५१ हजार प्राप्त गरे ।


ताजा खबर