उद्योगलाई सर्तसहित थप बिद्युत् उपलब्ध गराइने

नेपाल विद्युत् प्राधिकरणले विद्युत् बढी माग हुने साँझ र बिहानमा उद्योग नचलाउने सर्त राखी औद्योगिक ग्राहकलाई तत्काल विद्युत् उपलब्ध गराउने भएको छ ।

मुलुकभित्र उत्पादित विद्युत् वर्षाको समयमा खेर जाने अवस्था आएपछि प्राधिकरणले विद्युत् खपत बढाउने अल्पकालीन योजना अन्तर्गत उच्च माग भएको समयमा प्रसारण तथा वितरण लाइन ओभर लोड भएमा नचलाउने सर्त राखी उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन लागेको हो । 

प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरूलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरूसँग छलफल गरी थप लोड आवश्यक परेमा तत्काल आवेदन दिन र १३२ केभी प्रसारण लाइनबाट पनि विद्युत् आपूर्ति लिन आग्रह गर्नुभयो । 

उद्योगहरूले अहिले ११ र ३३ केभीबाट विद्युत् आपूर्ति लिइरहेका छन् । ११ र ३३ केभीको तुलनामा १३२ केभीबाट आपूर्ति गरिने विद्युत्को महसुल सस्तो छ ।

औद्योगिक करिडोरले बेहोरिएको, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या समाधानका गर्न स्रोत र साधन अभाव नहुने गरी काम अगाडि बढाइएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले यस्ता समस्या न्यूनीकरण गर्दै भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको प्रतिबद्धता जनाउनुभयो ।

प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरूलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरूको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

उद्योगीहरुसँंगको छलफलमा कार्यकारी निर्देशक घिसिङले दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरूको पहिचान गरी प्रसारण तथा वितरणका ठुला क्षमताका लाइन तथा सब स्टेसन निर्माण सुरु गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार सङ्घ, नेपाल उद्योग परिसंघ प्रदेश नं १ प्रादेशिक तदर्थ समितिका प्रतिनिधिहरूले मोरङ– सुनसरी औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले बेहोरिरहेको विद्युत् आपूर्तिका विषयमा जानकारी गराएका थिए । 

सङ्गठनहरूले दैनिक रुपमा भइरहेको ट्रिपिङ, न्यून गुणस्तर लगायतका समस्या समाधान गरी विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित बनाउन माग गरेका छन् ।

मोरङ–सुनसरी औद्योगिक करिडोरअन्तर्गत मोरङको कटहरी गाउँपालिका क्षेत्रमा रहेको विद्युत् आपूर्तिको समस्या समाधान गर्न अध्ययन समिति गठन गरिएको छ । 

विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काको संयोजकत्वमा गठित समितिमा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसंघ, मोरङ व्यापार सङ्घ, उद्योग संङ्ठनका प्रतिनिधिहरू सदस्य रहेका छन् । 

समितिले विद्युत् आपूर्तिमा भइरहेको समस्या र समाधानका उपायहरूसहित सुझाव दिने प्राधिकरण प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगरका निर्देशक राजन ढकालले जानकारी दिनुभयो । –रासस


ताजा खबर