प्याजको मूल्य अहिलेसम्मकै उच्च : नेपालमा तस्करले भित्र्याउछन प्याज

प्याजको मूल्य पाँच वर्षकै उच्च विन्दुमा पुगेको छ । प्याज अभाव देखाएर व्यापारीले उपभोक्तालाई प्रतिकिलो एक सय ५० देखि एक सय ७० रुपैयाँसम्ममा बिक्री गरेका छन्। सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य एक सय २८ र खुद्रामा एक सय ४५ रुपैयाँ पुगेको छ।

पछिल्लो पाँच वर्षको अवधिमा प्याजको मूल्य उत्कर्ष बिन्दुमा पुगेको यो पहिलोपटक हो। २०७२ कात्तिक २१ गते प्याजको खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो। २०७३ कात्तिक २१ मा ३५, २०७४ कात्तिक २१ मा ८५ र २०७५ कात्तिक २१ मा ५५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो। दसैंको मुखमा प्याजको मूल्य एक सय ४० रुपैयाँसम्म पुगेको थियो। तर विस्तारै ९० रुपैयाँसम्ममा झरेको थियो।

भारतले असोज दोस्रो साता प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। यो प्रतिबन्धपछि नेपालमा अवैधरूपमा प्याज आयात भइरहेको छ। यसले गर्दा नेपाली बजारमा प्याजको खुद्रा मूल्य हालसम्मकै उच्च बनेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार भारतमै अहिले प्याजको मूल्य ८० देखि एक सय भारतीय रुपैयाँ पुगेको छ। नेपालमा खपत हुने प्याजको कुल परिमाणमध्ये ९८ प्रतिशत भारतबाट आयात हुन्छ।

प्याज आयात गर्ने थोक व्यापारीका अनुसार भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा अवैध बाटो (तस्करी)बाट आयात भइरहेको छ।

रासस


ताजा खबर