भौतिक शास्त्रको नोबेल पुरस्कार ३ जलवायु वैज्ञानिकलाई

नोबेल कमिटीले सन् २०२१ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई दिने घोषणा गरेको छ । 

नोबेल पुरस्कार पाउनेमा मध्ये अमेरिकी जापानी नागरिक स्युकुरो मानाबे, जर्मनी क्लाउस हस्सेल्मान र इटलीका जर्जीयो पारिसी रहेका छन् । 

उनीहरूलाई जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न गरेको अनुसन्धानका लागि नोबेल पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । 

जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन हुन लागेको ठीक एक हप्तापछि मङ्गलबार नोबेल कमिटीले पुरस्कारको घोषणा गरेको हो । 

विश्वभरी तापक्रमको मात्रा बढेको र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्याहरू बढ्दै गएको भन्दै विश्वकै ध्यान खिच्नेगरी सम्मेलन गर्न लागिएको आयोजकहरूले जनाएका छन् । 

जलवायु परिवर्तनले पारेको असरलाई न्यूनीकरण गर्न सघाउने गरी अनुसन्धान गरेकाहरूलाई नोबेल पुरस्कार प्रदान गर्नुलाई थप सकारात्मक रूपमा हेरिएको छ । 

पुरस्कार पाउनेमध्ये मानाबे ९० वर्षको र हस्सेलमान ८९ वर्षको हुनु भएको छ । उहाँहरूले जलवायु परिवर्तनको परिमार्जनशीलता र जलवायुको पूर्वानुमानसम्बन्धी अनुसन्धान संयुक्त रूपमा गर्नुभएको थियो । 

त्यसैगरी ७३ वर्षका वैज्ञानिक पारिसीलाई भने परमाणुदेखि ग्रहसम्म उतारचढावको अन्तरक्रियाको बारेमा अनुसन्धान गरेकाले पुरस्कार दिन लागिएको नोबेल कमिटीले जनाएको छ । 

नोबेल कमिटीले यसअघि शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिने घोषणा गरेको थियो । 

अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको थियो ।एएफपी


ताजा खबर