नेपाल क्रिकेट संघको बोर्ड बैठक बुधबार बस्दै

नेपाल क्रिकेट संघ उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजिनामा दिएपछि उनीहरुको राजिनामाका विषयमा छलफल गर्न र त्यसको निर्णयका लागि क्यानको बोर्ड बैठक बुधबार बस्दैछ । 

केहि दिन अगाडी अचानक सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा राजिनामा दिएका थिए । जसका कारण अहिले क्यानमा उपाध्यक्ष र सचिवको पद खालि रहेको छ । 

अब क्यानको बोर्ड बैठकले उक्त रिक्त पदमा नयाँ जिम्मेवारी दिने हिसाबले बैठक राख्न लागेको हो । स्रोतका अनुसार राजिनामाका विषयमा दुबैजनासँग एक पटक कुरा गर्ने र यदि त्यसमा उनीहरु अडिक रहेको खण्डमा नयाँ ब्यक्तिलाई जिम्मेवारी दिने तयारीमा क्यान रहेको छ ।

यसअघि भर्चुअल रुपमा क्यानको बैठक बसेपनि उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलपनि सहभागि भएका थिएनन् । तर अब क्यानले बुधबार फिजिकल रुपमा नै बैठक बस्ने भएको छ । जसका लागि अध्यक्ष चतुरबहादुर चन्द सोमबार काठमाडौं पुग्ने भएका छन । 

कुरा मिलेको खण्डमा सचिवमा प्रशान्त विक्रम मल्ललाई जिम्मेवारी दिने योजना क्यानको रहेको छ । हाल प्रतियोगिता समितीका संयोजक रहेका उनी पछिल्लो पटक खेलाडी बर्गिकरण समितीका सदस्यपनि रहेको थिए । 

यो बैठकले क्यानको अगामी एजीएमको पनि टुंगो लगाउने बताइएको छ । यसका साथै खेलाडीको बर्गिकरणको विषयमा पनि कुरा हुनसक्नेछ । तर क्यानकाे बर्गिकरण समितीले मापदण्ड बनाएर क्यानलाई फाइल बुझाइसकेकाे छ । यस्तै नेपालले डिसेम्बरमा काठमाडौंमा गर्ने तयारी गरेको सिरिजका विषयमा पनि छलफल हुनेछ । 

क्यानले डिसेम्बरमा त्रिकोणात्मक सिरिजका लागि आन्तरीक तयारी गरेको छ । जसका लागि क्रिकेट म्यानेजर विनोद दासलाई आइसीसीसँग समन्वयका लागि जिम्मेवारी दिएको छ । यसमा आइसीसीपनि सकारात्मक देखिएको बताइएको छ । यदि यो प्रतियोगिता भएको खण्डमा काठमाडौंमा नै नेपालले सिरिज खेल्नेछ । मिलेकाे खण्डमा सुरुवातमा एक टिमलाई बाेलाएर २ वटा एकदिवसिय सिरिज र त्यसपछि अर्काे टिमलाई बाेलाएर त्रिकाेणात्मक सिरिज गराउने याेजना छ ।


ताजा खबर