सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।

ग्यालेक्सी फोर के टेलिभिजनको शुक्रबार शुभारम्भ गर्नुहुँदै उहाँले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेबार पत्रकारिता गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रूपमा स्थापित रहेको भन्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाललेसमेत सोही मान्यताअनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गर्नुभयो । उहाँले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कायम गर्न सञ्चार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरूको भाषा, संस्कृतिको जगेर्ना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह गर्नुभयो । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

तथ्य बङ्ग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै अध्यक्ष दाहालले सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गर्नुभयो । शुक्रबारदेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको छ । टिभीमा चर्चित रियालिटी सोदेखि समाचार प्रस्तुतिमा नयाँ शैली अपनाउने त्यस अवसरमा जानकारी दिइयो ।


ताजा खबर