१३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा सुरु

दक्षिण एसियाली राष्ट्रहरूको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु भएको छ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेल श्रीलङ्का र बङ्गलादेशबीच भएको छ भने दोस्रो खेल नेपालले आयोजक माल्दिभ्ससँग खेलेको छ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु भएको थियो ।

साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ । जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन । 

पाँच टोलीले एकापसमा खेलेपछि शीर्ष दुई टोलीले यही असोज ३० उपाधिका लागि भिड्नेछन् । नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताउनुभएको छ । नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन् । 

त्यसै गरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् । –रासस


ताजा खबर