लन्डनमा ‘नेपाल प्रवर्द्धनात्मक’ अभियान

आश्विन ११, २०७६

लन्डन — बेलायतको लन्डनस्थित नेपाली दूतावासले विश्व पर्यटन दिवसका अवसरमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरुले नेपाल अनुपम प्राकृतिक सौन्दर्य, प्रचूर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक, सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण र विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रूपमा सुपरिचित रहेको चर्चा गरे ।

कार्यक्रममा नेपालको प्राकृतिक सौन्दर्य, साहसिक, धार्मिक, सांस्कृतिक, कृषि एवं स्वास्थ्य पर्यटन झल्कने विभिन्न भिडियोले विदेशी दंग देखिन्थे । राजदूत दुर्गाबहादुर सुवेदीले नेपाल सरकारको भ्रमण वर्ष अभियान सफल बनाउन बेलायतमा आक्रामक प्रचारप्रसार गरिने जनाए । भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल पठाउने लक्ष्य लिएका राजदूतले आउँदो वर्ष इंग्ल्यान्ड, वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डमा बेग्लाबेग्लै प्रवर्द्धनात्मक कार्यक्रम गर्ने तयारी भइरहेको बताए । अघिल्लो वर्ष बेलायतबाट ६० हजार बढी पर्यटक नेपाल घुम्न गएको तथ्यांक छ ।

महाभूकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्किसकेको जनाउँदै राजदूतले नेपाल सरकारले सय नयाँ पर्यटकीय गन्तव्य विस्तार गर्न लागेको जनाए ।

‘नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा र पोखरा, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा छ । नेपालमा पर्यटकलाई गरिने आतिथ्य विश्वमा अन्यत्र कहीं छैन,’ सुवेदीले भने, ‘नेपाल भ्रमणका लागि सुरक्षित र उत्कृष्ट गन्तव्य भएकाले म बेलायती मित्रहरुलाई एकपटक नेपाल जान अपिल गर्दछु ।’

कार्यक्रम संयोजक विराज भट्टले आफ्नो प्रस्तुतिका क्रममा नेपालको प्राकृतिक सौन्दर्य एवं भौगोलिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षबारे जानकारी दिँदै नेपाल होलिडेका लागि उत्कृष्ट गन्तव्य भएको बताए । उनले साहसिक पर्यटन र पर्वतारोहणका लागि मात्रै होइन, नेपाल योग र ध्यानका लागि पनि सर्वोत्कृष्ट गन्तव्य रहेको बताए । नेपालकी चर्चित नृत्यांगना दिपासा बिसी जलपरी लगायत स्थानीय कलाकारले नेपाली मौलिक नृत्य र मदन थापाले सांरगीबाट मालश्री धुन प्रस्तुत गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन दूतावासद्वारा गठित उच्च स्तरीय समितिअन्तर्गत ट्राभल एन्ड टुर प्रमोसनल कमिटीले कार्यक्रम गरेको हो । कार्यक्रममा बेलायतस्थित ट्राभल टुर अपरेटर, हस्पिटालिटी व्यवसायी एवं मिडियाको उल्लेख्य उपस्थिति थियो ।


ताजा खबर