पर्यटन दिवस: ११ देशका राजदूत पोखरामा

विश्व पर्यटन दिवसको अवसरमा ११ देशका राजदूत पोखरामा आइपुग्नुभएको छ । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहितको २५ जनाको टोली पोखरा भ्रमणमा आएको हो । 

विश्व पर्यटन दिवसका अवसरमा पोखरा आइपुग्नुभएका उहाँहरू तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

टोलीमा युएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलङ्का, दक्षिण कोरिया, थाइल्यान्ड, बङ्गलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी हुनुहुन्छ । सार्कका महासचिव, संयुक्त राष्ट्रसङ्घकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, युएनडिपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टर लगायतको टोलीमा सहभागिता छ । 

टोलीलाई गण्डकी प्रदेश सरकार र अन्य संघसंस्थाहरुले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

टोली आइबार साँझ प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको रात्रि भोजमा सहभागी भएको छ भने विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन सोमबार बिहान टोलीले कास्की कोटमा रहेको अपाङ्गमैत्री पहुँचयुक्त पदयात्रा मार्गमा हाइकिङ गर्नेछ । 

सोमबार नै टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछ । अपराह्न ५ बजेबाट रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा लेक साइडमा हुने मिनी सडक महोत्सवमा टोली सहभागी हुने कार्यतालिका छ ।

भ्रमण टोलीसँग गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका विषयमा छलफल हुने प्रदेश सरकारले जनाएको छ । 

तीन दिनको भ्रमण सकेर टोली मङ्गलवार फर्कने कार्यक्रम छ ।


ताजा खबर