‘तिम्लाई बाबाको माया कति लाग्छ रे ’: नीर शाह

छोरी मलाई भागी-भागी नसताउ,

कानमा आई सुटुक्क बताउ ।

कानमा आई सुटुक्क बताउ,

तिमीलाई बाबाको माया कति लाग्छ रे ?

यो गीतले, बाउ र छोरीबीचको निश्चल प्रेम-सम्बन्धको कथा कहन्छ। बाबा र छोरीबीचको भावनात्मक संवादलाई यसले अत्यान्तै मीठासपूर्ण ढंगले बाँधेको छ । बाउ र छोरीबीचको घनिष्ठतालाई यति प्रेमिल शब्दलहरमा उनिएको छ, जसले हरेकको भावनालाई सहजै पगाल्छ । त्यसैले त २८ बर्षपछि पनि उत्तिकै ताजा छ यो ।

यो गीत नीर शाहले तयार गरेका थिए । उनले कस्तो मनोभावमा यसका शब्दहरु फुराए ? कथा चाखलाग्दो छ ।

निर्देशक शम्भु प्रधान चलचित्र ‘स्वर्ग’ बनाउने तयारीमा थिए । उनी चलचित्रको गीतको तयारीमा लागे । जसमध्ये एउटा गीत लेख्ने जिम्मा लगाए, नीर शाहलाई । त्यतिबेला नीर शाहले चलचित्रका लागि गीत लेखिरहेका हुन्थे । शम्भुले नीरलाई चलचित्रको कथासार सुनाउँदै गीतको सन्दर्भबारे बताएका थिए । बाउ-छोरीको सन्दर्भमा रहेर गीत लेख्नुपर्ने थियो ।

नीर शाह र ईश्वरी प्रधान गीतमा बाबा छोरीको अभिनय गर्दै

त्यतिबेला नीरकी छोरी (आकांक्षा) सानै उमेरकी थिइन्, त्यस्तै ६-७ वर्षकी । ज्ञानेश्वर निवासी नीरले आफ्नी छोरीलाई आफूसँगै घरको छतमा लिएर गए । अहिले त्यो क्षण सम्झँदा पनि नीर नोष्टाल्जिक हुन्छन् ।

‘छतमा गएपछि यहाँ आएर बस, तँलाई के-के मन लाग्छ गर भनें’ नीर सम्झन्छन् ‘उनी मेरो कानमा आएर केही भन्थिन्, तर बुझिँदैनथ्यो । के भनेको भनेर सोध्दा उ दौडिन्थी । म उसलाई समात्न पछिपछि दौडिन्थेँ ।’ छोरीले बेलाबेला लुकेर नीरलाई झुक्याउँथिन् । उनले चुलबुले आफ्नै छोरीलाई हेरेर केही घण्टामै गीत तयार पारे, ‘छोरी मलाई भागीभागी नसताउ…।’ त्यसमा छोरीको ‘मनोभावना’लाई समेटने प्रयास गरे ।

गीत शम्भुलाई लगेर दिए । शम्भूजीत बासकोटाले संगीतवद्ध गरे । उदीत नारायण झा र निर्देशक शम्भूकी छोरी ईश्वरी प्रधानको स्वरमा रेकर्ड भयो । त्यसबेला गीत रेकर्डका लागि मुम्बई पुग्नुपर्थ्यो ।

गीत लेख्दासम्म चलचित्रको कलाकारमा नीर शाह थिएनन् । पछि निर्देशक प्रधानले भने, ‘चलचित्रमा बाउको भूमिकामा तपाईंले नै खेल्नुस् ।’

अन्य चलचित्र खेलिरहेका थिए, यसमा पनि मुख्य कलाकारका रुपमा अनुबन्ध भए । अन्य कलाकारहरु रहे, ‘गौरी मल्ल, शिव श्रेष्ठ, अर्जुन श्रेष्ठ ईत्यादि । बाउ-छोरीको सम्बन्धको कथामा बनेको चलचित्रमा नीर र गौरीले बाबु-छोरीको भूमिकामा अभिनय गरे ।

गीतको भिडियोमा बुवाको भूमिकामा नीरको अभिनय रह्यो भने छोरीको भूमिकामा निर्देशक शम्भुकी छोरी ईश्वरी । गौरीले बाल्यकाल सम्झेको सन्दर्भमा यस गीत जोडिएको छ । बसन्त श्रेष्ठको कोरियोग्राफीमा नगरकोट जाने बाटो, सूर्यविनायक लगायतका स्थानमा गीतको छायाँकन गरिएको नीर सम्झन्छन् । ३ दिनमा छायाँकन गरिएको नीरको स्मरण छ ।

उनका अनुसार सो समय उक्त गीत धेरै चलेको होइन । लेख्ने समयमा पनि चर्चित होला भन्ने कल्पना थिएन । यद्यपि हेर्ने-सुन्नेबाट राम्रो प्रतिक्रिया मिलेको थियो । तर, विस्तारै-विस्तारै उक्त गीत लोकप्रिय हुँदै आएको नीरले बताए ।

‘यो गीत हरेक बाउ-छोरीले आफ्नै लागि लेखेको सोच्छन् होला’ नीर भन्छन्, ‘गीत मनछुने हुनुपर्छ । मन छुने बित्तिकै जसले लेखेपछि आफ्नो गीत सम्झन्छ ।’

नीरकी छोरीको विवाह भएर छोरा पनि एसईई दिने भैसकेका छन् । यता गीतमा स्वर दिएकी तथा भिडियोमा अभिनय गरेकी ईश्वरी अमेरिकामा छिन् । उनका पनि सन्तान ठूला भैसकेका छन् । गीतलाई लिएर नीरकी छोरी, शम्भुकी छोरी दुवै रोमाञ्चक हुने गर्छन् । शम्भुकी छोरीले बालकलाकारका रुपमा अभिनय गरेको यस गीत आफूलाई अहिले पनि दिमागमा आउने बताउँदै आएकी छिन् ।

नीरकी छोरी पनि ‘बुवाले मलाई हेरेर लेख्नुभएको गीत’ भनेर प्रसंगवस खुःसी प्रकट गर्ने गरेको नीर बताउँछन् । हिजोआज पनि कतै जाँदा यो गीतको कुरा हुन्छ । यसरी गीतको चर्चा हुँदा आफूलाई छुट्टै आनन्द मिल्ने नीर बताउँछन् । उनी स्वयंमलाई पनि यो गीत निकै मन पर्छ ।

गीत रुचाईनुमा शब्द, संगीत, भिडियो लगायत सबै पक्षहरु राम्रो हुनु रहेको उनी बताउँछन् । आफ्नो गीत सम्झनु नै गीत रुचाउनुको कारण भएको नीरले बताए ।

‘यो गीत हरेक बाउ-छोरीले आफ्नै लागि लेखेको सोच्छन् होला’ नीर भन्छन्, ‘गीत मनछुने हुनुपर्छ । मन छुने बित्तिकै जसले लेखेपछि आफ्नो गीत सम्झन्छ । अनि त्यो गीतलाई माया गर्न थाल्छ । यसको सन्दर्भमा पनि यहि भएको हो ।’ बाउ छोरीको मनोभावनालाई गीतले प्रतिनिधित्व गर्न सफल भएकाले सबैले रुचाएको नीरले बताए । ‘जे पनि निष्ठापूर्वक, भावनात्मक रुपमा त्यसमा डुबेर काम गर्दा सत्यसँग नजिक हुन जान्छ’ उनले भने, ‘यो गीतले पनि धेरै सत्यता बोकेको छ ।’

गीतको भिडियो यस्तो छ

भिडियो सौजन्यः हाइलाइट्स नेपाल


ताजा खबर