श्रष्टाहरुलाई गीतकार संघ नेपालको सम्मान र पुरस्कार

गीतकार संघ नेपालले गीतकार रमेश दहाललाई ५७,००० राशी सहितको ’वर्ष गीत पुरस्कार’ प्रदान गरेको छ । मोरङ्ग, खोर्साने स्थीत सिद्धार्थ सेकेन्डरी स्कुलको सभाहलमा प्रदेश नं. १ का प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीकोमा गीतकार संघ नेपालले आयोजना गरेको समारोहमा उनलाई सम्मान गरिएको हो ।

यस्तै, गीतकार विश्व वल्लभलाई ’अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७७’ द्वारा सम्मान गरियो । उनलाई नगद १ लाख ५१ हजारसहित ताम्रपत्र प्रदान गरिएको थियो । त्यस्तै, डायस्पोरा गीतकार सम्मानबाट हरि उप्रेती, ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७’ बाट कृष्ण बहादुर गुरुङ र बर्ष गीत पुस्तकका लागि गणेश श्रेष्ठ अपेक्षालाई समेत सम्मान गरिएको थियो ।

प्राप्त ४५ गीतहरु मध्ये विशेष समितिको निर्णयले उत्कृष्ट १० गीतहरु छानिएका थिए । १ का प्रमुख माननीय सोमनाथ अधिकारी प्यासीको हातबाट रमेशले सम्मान प्राप्त गरेका थिए । यही पुरस्कार अघिल्ला बर्षहरुमा गीतकार सुदीप रेग्मी, भावेश भुमरी, नृपध्वज खड्का, सुमन बैरागी पण्डित, महेश आचार्यलगायतका श्रष्टालाई प्रदान गरिएको थियो ।

गीतकार संघमा आवद्ध गीतकारहरुका रचनामा २०७७ भरि सार्वजनिक भएका र संघमा विधिवत दर्ता हुन आएका गीतमध्येबाट छनोट समितिको सिफारिसमा उत्कृष्ट १० छनोट गरिएको थियो भने प्रमोद ढुँगाना र गंगाराम मुकारुङको निर्णायक मण्डलले रमेशको गीत उत्कृष्ट घोषणा गरेको थियो ।

पुरस्कार प्राप्त गरिसकेपछि गीतकार दाहालले भने– ‘सबै गीतकारका गीत उत्कृष्ट हँुदाहुदै पनि कुनै एक गीतलाई पुरस्कृत घोषणा गर्नुपर्ने वाध्यता हुन्छ । सबै गीतकारज्युहरुका गीत उत्तिकै उम्दा भएकाले नै हामी उत्कृष्ट १० मा आउन सकेका हौ । यसैले मेरो गीत पुरस्कृत हुनु हामी सबै आधुनिक गीतका गीतकार पुरस्कृत हुनु हो । अझ, मेरो शव्दले पुरस्कृत हुनु नेपाली आधुनिक गीतमा गहन शव्दको इज्जत हुनु हो । त्यसैले म यो खुसी सबै शव्दशिल्पी गीतकारज्युहरुसंग बाँड्न चाहन्छु । म सबैबाट सिकिरहेको गीतकार हुँ र सबैका सिर्जनाको प्रशंसक पनि हुँ । म गीतकार संघ र निर्णायक ज्यु लगायत यस गीतका संगीतकार सन्तोष श्रेष्ठ, संगीत संयोजक अमुल कार्कीढली ज्यु र गायक कर्ण दास ज्युहरुलाई समते यो खुसी बाड्न चाहन्छ ।’

कार्यक्रममा गीतसंगीत क्षेत्रका उल्लेख्य ब्यक्तित्व सहित करिव ३०० जनाभन्दा बढीको उपस्थितिमा सम्पन्न भएको थियो । पुरस्कृत गीत ’आफै हिड्ने भीरको बाटो’ मा कर्ण दासको स्वर र संतोष श्रेष्ठको संगीत रहेको छ । –रासस


ताजा खबर