सिनेमा हल दशैंअघि नै खुल्ने : प्रदर्शन मिति तोकिँदै

कोभिड–१९ का कारण प्रदर्शनको तयारीमा रहेर पनि पछि हटेका अधिकांश फिल्मले प्रदर्शन मिति पुनः तय गर्न सकेका छैनन् ।

११ चैत २०७६ देखि भएको पहिलो लकडाउन र १६ वैशाख २०७८ मा भएको दोस्रो लकडाउनका कारण नेपाली फिल्म क्षेत्र नै अन्योलमा परेको छ ।

पहिलो लकडाउन खुलेपछि फिल्म चहलपहल प्रारम्भ हुन लागेको थियो ।

फिल्म निर्माण घोषणा हुने, छायांकनमा जाने र प्रदर्शन हुने क्रमसमेत प्रारम्भ हँुदै थियो ।

पहिलो लकडाउन सकिएपछि निर्माता, निर्देशकहरू ‘अब ठिक भयो’ भन्ठानेर जुर्मुराउन थालेका थिए ।

तर, फेरि कोरोना संक्रमण बढ्न पुग्यो, जसकारण सरकारले पुनः पहिलाको भन्दा अलि कम कडाइका साथ लकडाउन लागू गर्यो ।

अहिले लगभग सबै क्षेत्र खुलिसकेको छ ।

तर दशैं, तिहार सम्मुखमा हुँदासमेत फिल्म प्रदर्शन गर्न निर्माता, निर्देशक तात्तिएका छन्, न हल सञ्चालक हल खोल्न आतुर छन् ।

‘यो दशैंमा त जसरी पनि हल खोल्छौ,’ निर्माता तथा हल व्यवसायी अशोक शर्माको दावी छ– ‘हल नखुलेसम्म फिल्म क्षेत्र चलायमान हुन्न । फिल्म क्षेत्र चलायमान हुन पनि फिल्म चल्नुपर्छ ।’

निर्मातालाई हल सञ्चालक तथा चलचित्र विकास बोर्डले केही राहत दिएर भए पनि फिल्म प्रदर्शन गर्न लगाउनुपर्ने उनको धारणा छ ।

उता, चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल पनि आफू कोरोना प्रभावित फिल्मलाई कसरी सुविधा दिन सकिन्छ भन्ने कुरामा चिन्तित रहेको बताउने गर्छन् ।

‘म हरदम फिल्म क्षेत्र गतिशील बनाउनका लागि प्रयत्नरत छु,’ उनले भने– ‘शीर्ष नेता, निर्माता, हल व्यवसायी तथा सम्बन्धित संघसंस्थासँग छलफलमा जुटिरहेका छौ । छिट्टै केही ठोस निर्णय आउने छ ।’

सरकारले फिल्म क्षेत्रलाई प्राथमिकतामा नराख्ने गरेकाले निर्माताको करोडौं लगानी डुबिरहेको तथा हजारौं कलाकार, प्राविधिक बेरोजगार हुने अवस्थामा पुगेको फिल्मकर्मीहरू बताउँछन् ।

यद्यपि, देशभरका हल सञ्चालनमा नआए पनि, हलमा फिल्म प्रदर्शन नभए पनि, केही कलाकार तथा प्राबिधिक भने म्युजिक भिडियो तथा टेलिचलचित्र, वेबसिरिजमा ब्यस्त हुने गरेका छन् ।

तर, पछिल्लो समय युट्युव भ्युज तथा आम्दानी निकै कम भइरहेकाले म्युजिक भिडियो निर्माताहरू पनि अन्योलमा छन् ।

कोरोना संक्रमणको सुरुवातअघि प्रदर्शन मिति तोकेका केही फिल्म एकाएक स्थगित भए ।

ती फिल्म हुन्, फूलमान वलको ‘नीरफूल’, सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु–२’, शिवहरि पौडेल निर्देशित ‘लक्का जवान’, निकेश खड्का निर्देशित ‘चपली हाइट–३’, ‘प्रेमगीत–३’, रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ र साकार पन्त निर्देशित ‘हिजो आजका कुरा’ ।

१६ फागुन ०७६ मा ‘धुलो’ नामक फिल्म प्रदर्शन भएको थियो ।

२३ फागुनमा ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन हुने तयारीमा थियो । तर सो मितिमा टाइगर श्राफ अभिनित हिन्दी फिल्म ‘बागी–३’ प्रदर्शनमा आयो । जसकारण सो फिल्मसँग आफ्नो फिल्म जुधाउन निर्देशक थापा डराए ।

उनले एकाएक आफ्नो फिल्म एक साता पर सारे ।

अर्थात् उनको फिल्मले नयाँ प्रदर्शन मिति तोके– ३० फागुनलाई ।

उक्त मितिमा ‘नीरफूल’ प्रदर्शन हुने तयारीमा थियो ।

तर कोभिड–१९ का कारण देश नै बन्द गर्ने चर्चा चल्न थाल्यो ।

फलस्वरूप फिल्म प्रदर्शन स्थगित गर्न बाध्यता आइहाल्यो ।

२१ चैतमा ‘लक्का जवान’ र त्यसको एक सातापछि ‘प्रेमगीत–३’, ‘माइकल अधिकारी’ र ‘चपली हाइट–३’ ले प्रदर्शन मिति तोकेका थिए ।

त्यसैगरी, १२ वैशाख ०७७ मा ‘हिजो आजका कुरा’ प्रदर्शन हुने तयारीमा थियो ।

अहिले आएर यी कुनै फिल्मले पनि नयाँ प्रदर्शन मिति तोकेका छैनन् ।

न त यी फिल्मका निर्माताले दोस्रो लकडाउनअघि खुलेको बेलामा फिल्म प्रदर्शन गर्ने तत्परता देखाए ।

पहिलो लकडाउन खुलेपछि भने आधा दर्जन बढी फिचर फिल्म निर्माण भए ।

ती फिल्महरु हुन्– ‘श्री’, ‘लक्ष्मीपूजा’, ‘कृष्ण लीला’,‘डिसेम्बर फल्स’, ‘गणपति’, ‘लोभीपापी’, ‘गोवर गणेश’, ‘बिहे पास’ आदि ।

जयकिशन बस्नेत र सोभित बस्नेत टिमले निर्माण गरेको ‘लोभीपापी’ र ‘लक्ष्मीपूजा’ केही टिभीमा प्रसारण भइसकेको छ ।

ती फिल्म हलमा भने आउने छैनन् ।

गत माघमा हल खुलेपछि शिव श्रेष्ठको ‘यस्तो एउटा प्रेमकहानी’, ‘गोर्खे’, ‘श्री’ र ‘गुडफ्रेन्ड’ हलमा प्रदर्शन भए ।

लगत्तै दोस्रो लकडाउन भयो ।

त्यसपछि गत भदौमा पचास प्रतिशत दर्शकका साथ काठमाडौंका मात्रै हल खोल्न पाउने अनुमति सरकारले दिए पनि निर्माताले आफ्नो फिल्म लगाइहाल्ने मनस्थिति बनाएका छैनन् ।

यद्यपि, दशैंको सम्मुखमा केही अघि नै निर्माण भएको ‘धन्दागिरी’ र सोभित बस्नेतले भर्खरै सुटिङ सकाएको ‘डाडाँको वरपीपल’ प्रदर्शन गरिने घोषणा भएको छ ।

हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले आफूहरूले मोफसल हल पनि पूर्णरूपमा सञ्चालन गर्न दिन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको र अधिकांशबाट सकारात्मक प्रतिक्रिया आएकाले दशैअघि हल खुल्ने विश्वास व्यक्त गरेका छन् ।

‘दशैं अघि हल खुल्छन् । हामी करिब एक दर्जन फिल्मको प्रदर्शन मिति तोकेरै अघि बढ्ने तयारीमा छौं,’ प्रधानले भने ।

दोस्रो लकडाउनअघि चैत्र अन्तिममा ‘कृष्ण लीला’ र ‘लप्पन छप्पन–२’ ले प्रदर्शनको मिति तोकेर प्रचार पनि सुरु गरिसकेका थिए ।

तर, स्थगित गर्नु पर्यो ।

केही दिनअघि ‘लप्पन छप्पन–२’ ले १३ फागुनमा फिल्म प्रदर्शन गर्ने नयाँ मिति सार्वजनिक गरेको छ ।

त्यसैगरी, निर्मात्री, निर्देशक झरना थापाले पनि आफ्नो फिल्म ‘ए मेरो हजुर–४’ २८ चैतमा प्रदर्शन गर्ने निधो गरेकी छिन् ।

अन्य फिल्म प्रदर्शन मिति भने अझै तय भएका छैनन् ।


ताजा खबर