सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभएको छ ।

प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरी अमानवीय प्रवृत्तिविरुद्ध राज्य कठोर बन्नुपर्ने आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले सो विषय मानवीय र साझा भएको भन्दै कानून बनाउन मात्र होइन कार्यान्वयन गर्न पनि सरकार लाग्ने बताउनुभएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

भेटमा प्रवक्ता शर्माले पार्टीको १४औँ महाधिवेशनको तयारी, सरकारका उपलब्धि र समीक्षालगायत विषयमा पनि छलफल गर्नुभएको थियो । साथै पार्टीको केन्द्रीय प्रचार विभागले महाधिवेशन पुर्व ‘चिन्तन १४औँ महाधिवेशन’ आयोजना गर्ने निर्णय गरेको जानकारी पनि गराउनुभएको थियो । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।


ताजा खबर