राष्ट्रिय सुरक्षाका चुनौती पहिचान गर्न सेनालाई निर्देशन

 प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न  निर्देशन दिनुभएको छ । 

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले जङ्गी अड्डामा आज आयोजना गरिएको दुई दिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकको शुभारम्भ गर्नुहुँदै राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनालाई परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषणका साथ रणनीतिक कार्य योजना बनाएर काम गर्न निर्देशन दिनुभयो ।    

प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा स्थितिको विश्लेषण गर्दै सम्बन्धित साझा रणनीतिका साथ अघि बढ्नका लागि राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री देउवाले राष्ट्रिय सेनाको छविलाई अझ माथि उठाउन सकल दर्जाले इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।     

प्रधानसेनापति प्रभुराम शर्माले देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको बताउनुभयो । –रासस


ताजा खबर